वर्षाको प्रभाव : धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी हुने अनुमान



काठमाडौँ । यस वर्षको असामान्य वर्षाका कारण धान उत्पादनमा करिब पाँच प्रतिशतले कमी आउने अनुमान गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभर कृषि र पशुपन्छी क्षेत्रमा करिब रु तीन अर्ब ५५ करोड रुपैयाँको क्षति भएको तथ्याङ्कका आधारमा धान उत्पादन घट्ने प्रक्षेपण गरेको हो ।

गत वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष त्यसको करिब तीन प्रतिशत अर्थात् तीन लाख मेट्रिक टनले घट्ने अनुमान गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।

उनका अनुसार जलवायु परिवर्तनका कारण उत्पन्न बाढी, पहिरो र अत्यधिक वर्षाले कृषिमा सबैभन्दा ठूलो असर पारेको छ । विगत केही वर्षदेखि धान उत्पादन वृद्धि हुँदै आएको भए पनि यस वर्षको क्षतिले उत्पादन लक्ष्य पूरा गर्न कठिनाइ हुने मन्त्रालयको भनाइ छ ।

वर्षा धान पाक्ने समयमा परेकाले धेरै किसानले समयमा बाली काट्न नसकेका र काटिसकेका धान पनि खेतमै पानीले भिजेर नष्ट भएको जोशीले बताए । यसले किसानको ठूलो आर्थिक नोक्सानीसँगै कुल उत्पादनमा पनि प्रत्यक्ष असर पारेको छ ।

यद्यपि मौसम विभागले सम्भावित वर्षाको जानकारी समयमै प्रदान गरेको र मन्त्रालयले किसानलाई मौसम सफा भएपछि मात्रै धान काट्न सुझाव दिएपछि केही हदसम्म क्षति न्यूनीकरण भएको बताइएको छ । मन्त्रालयले किसानलाई मल, बीउ, प्रविधि तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्