पशुपतिनाथ–बौद्धनाथ जोड्ने सडकमा नयाँ ‘आस्फाल्ट प्रविधि’ बाट कालोपत्र सुरु |



काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर र बौद्धनाथ स्तूपलाई जोड्ने गौरीघाट–कुमारीगाल–बौद्ध सडकमा अब आधुनिक ‘आस्फाल्ट प्रविधि’ प्रयोग गरेर कालोपत्र गर्ने काम सुरु गरिएको छ ।

हालैसम्म प्रयोगमा रहेको पुरानो कालोपत्र उप्काएर नयाँ प्रविधिमा पुनः कालोपत्र थालिएको हो । तर सडक भत्काउने कार्य सुरु भएपछि धुलो र असुविधाका कारण स्थानीयवासीले असन्तुष्टि जनाएका छन् । स्थानीय मङ्गलबहादुर तामाङले सूचना बोर्ड नराखी काम सुरु गर्नु र पुरानो राम्रो सडक समेत भत्काउनु गैरजिम्मेवार व्यवहार भएको बताए । उनका अनुसार त्यति नबिग्रिएको सडक पुनः निर्माण गर्नु स्रोतको दुरुपयोग हो ।

यता, काठमाडौँ महानगरपालिका–६ का वडाध्यक्ष भुवन लामाले भने नयाँ ‘आस्फाल्ट प्रविधि’ प्रयोग गर्दा सडक अझै टिकाउ र गुणस्तरीय हुने भएकाले काम गरिएको स्पष्ट पारे । उनका अनुसार यसले पशुपतिनाथ र बौद्धनाथ जस्ता विश्व सम्पदा क्षेत्रहरूलाई जोड्ने मार्गलाई थप आकर्षक र सहज बनाउनेछ ।

महानगरको सार्वजनिक निर्माण विभागका साइट इञ्चार्ज इञ्जिनीयर प्रफुल्ल गर्तौलाले करिब चार किलोमिटर लामो सडक मङ्सिर महिनाभित्र कालोपत्र सम्पन्न हुने जानकारी दिए । उनका अनुसार रु दुई करोड लागतमा निर्माण कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्