गरिमा रोड रेस मंसिर ६ गते हुने




काठमाडौं – गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा मंसिर ६ गते “गरिमा रोड रेस” को दोस्रो संस्करण आयोजना गर्ने भएको छ।

दौड तीन विधामा हुनेछ– खुला पुरुष/महिला १० किलोमिटर, कर्पोरेट पुरुष/महिला ५ किलोमिटर र भेट्रान पुरुष/महिला ५ किलोमिटर। भेट्रानतर्फ पुरुष ५० वर्षमाथि र महिला ४५ वर्षमाथि उमेर समूहका धावकले प्रतिस्पर्धा गर्न पाउनेछन्। यो विधा यस संस्करणदेखि थपिएको हो।

आयोजकले करिब १ हजार धावकको सहभागिता हुने अपेक्षा गरेको छ। “स्वास्थ्यका लागि खेलकुद” नाराका साथ आयोजना हुने दौडमा खुला वर्गका विजेताले ५० हजार, दोश्रोले ३५ हजार, तेश्रोले २० हजार, चौथोले १५ हजार र पाँचौंले १० हजार रुपैयाँ पुरस्कार पाउने छन्। कर्पोरेट र भेट्रान वर्गमा शीर्ष पाँच स्थान प्राप्त गर्नेले क्रमशः ३० हजार, २० हजार, १४ हजार, १० हजार र ७ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

दौड बालुवाटारस्थित बैंकको प्रस्तावित केन्द्रीय कार्यालय परिसरबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी बालुवाटारमै टुंगिनेछ।
प्रतियोगिताको व्यवस्थापनका लागि आयोजकले खल्ती एपसँग सहकार्य गरेको छ। इच्छुक धावकले कात्तिक २८ देखि मंसिर ४ गतेसम्म खल्ती एपमार्फत २० रुपैयाँ शुल्क तिरी नाम दर्ता गर्न सक्नेछन्। गत संस्करणमा ओलम्पियन सन्तोषी श्रेष्ठसहित ६५० जनाले सहभागिता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्