आयोजक टीआईए क्वार्टरफाइनलमा




काठमाडौं, कात्तिक २६ – आयोजक ठूङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) १७औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ। हात्तीगौडास्थित आफ्नै कोर्टमा टीआईएले युरो स्कुललाई ५३–२८ ले सहजै पराजित गरेको हो। टीआईएका रोशन नगरकोटीले खेलमा सर्वाधिक १९ अंक जोडे।

ब्वाइजकै अन्य खेलमा कन्स्टिलेसनलले स्किब्सलाई ४७–३६, भ्याली पब्लिकले अपीलाई ४८–३० र हेम्सले एलआरआईलाई ५९–१९ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाए। कन्स्टिलेसनका सुदिन तामाङले १४, भ्याली पब्लिकका अशोक बिकले १२ र हेम्सका आशुतोष यादवले १७ अंक योगदान दिए।

अन्य प्रिक्वार्टरफाइनल खेलमा विल्सन एकेडेमीले बीएमसीएलाई ३७–२७, निम्सले ग्रिनल्यान्डलाई ६४–२६, ज्ञान निकेतनले दुर्गा भवानी एकेडेमीलाई ४३–३६ र एसएमडीले भीएस निकेतनलाई ३७–१९ ले पाखा लगाउँदै क्वार्टरफाइनलमा प्रवेश गरे। विल्सनका रेहान डंगोलले १७, निम्सका सुवास हिमालले १८, ज्ञान निकेतनका दिप्सन अधिकारीले १४ र एसएमडीका लाजेन शेर्पाले ७ अंक जोडे।

प्रतिक्रिया दिनुहोस्