डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ प्रायोजक बनेको घोषणा



काठमाडौँ । डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स क्रिकेट टिमको ‘एसोसियट’ प्रायोजक बनेको छ। बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सुदूरपश्चिम रोयल्स र डाबर नेपालबीच औपचारिक सम्झौता भएको हो।

सम्झौतापत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र डाबर नेपालका मार्केटिङ प्रमुख अभया गोर्खालीले हस्ताक्षर गरे।

सम्झौता कार्यक्रमपछि सीईओ खड्काले डाबरजस्तो प्रतिष्ठित ब्रान्डसँगको सहकार्यले टोलीलाई थप उत्साह र प्रेरणा मिलेको बताए। उनका अनुसार, “डाबरजस्तो कम्पनी हाम्रो टिमसँग जोडिनु गर्वको कुरा हो। यसले खेलाडीहरूमा थप ऊर्जा र आत्मविश्वास ल्याएको छ।”

त्यस्तै, डाबर नेपालका मार्केटिङ प्रमुख अभया गोर्खालीले पनि साझेदारीलाई सकारात्मक अवसरका रूपमा व्याख्या गरे। उनले भने, “डाबर रेड पेस्ट सुदूरपश्चिम रोयल्सको एसोसियट पार्टनर बन्न पाउँदा हामी उत्साहित छौँ। यसले नेपालकै अग्रणी टूथपेस्ट ब्रान्डलाई सबैभन्दा बढी समर्थक रहेको टिमसँग जोडेको छ।”

सुदूरपश्चिम रोयल्सको टिममा दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन रहेका छन्।

टोलीका मुख्य प्रशिक्षक जगत टमटा हुन्।

प्रतिक्रिया दिनुहोस्