यस वर्षको मनसुन : औसतभन्दा बढी वर्षा, जनधनको क्षति घट्यो



काठमाडौँ । यस वर्षको मनसुन अवधिमा औसतभन्दा बढी वर्षा भए पनि जनधनको क्षति गत वर्षको तुलनामा उल्लेखनीय रूपमा घटेको देखिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, गत वर्ष (२०८१) दुई हजार एक सय ३९ विपद्‌जन्य घटना दर्ता भएका थिए भने यस वर्ष (२०८२) त्यस्तो घटना एक हजार चार सय ५४ मात्र भएका छन् ।

गत वर्ष विपद्‌का कारण चार सय ९५ जनाको मृत्यु भएकोमा यस वर्ष मृत्यु हुनेको संख्या घटेर एक सय ४० पुगेको छ । यस्तै, गत वर्ष १० हजार आठ सय २३ घरपरिवार प्रभावित हुँदा यस वर्ष पाँच हजार नौ सय ९५ घरपरिवार मात्र प्रभावित भएका छन् । गत वर्ष बेपत्ता हुनेको संख्या ६६ रहेकामा यो वर्ष ३० पुगेको छ भने घाइते हुने ५२२ बाट घटेर ३०० जना पुगेको प्राधिकरणले जनाएको छ ।

विपद् प्रकारअनुसार क्षति

प्राधिकरणका अनुसार, यस वर्ष बाढीका दुई सय ९२, पहिरोका पाँच सय १३, भारी वर्षाका तीन सय ९७ र चट्याङका दुई सय ५२ घटना भएका थिए ।
बाढीका घटनामा ३७ जनाको मृत्यु, २६ जना बेपत्ता र १४ जना घाइते भएका छन् भने तीन हजार दुई सय घरपरिवार प्रत्यक्ष प्रभावित भएका छन् ।
पहिरोका घटनामा ६७ जनाको मृत्यु, ४ जना बेपत्ता र ७७ जना घाइते भएका छन् । ती घटनाबाट एक हजार पाँच सय १८ घरपरिवार प्रभावित भएका छन् ।
भारी वर्षाका कारण ७ जनाको मृत्यु, २० जना घाइते र ९६६ घरपरिवार प्रभावित भएका छन् ।
यस्तै, चट्याङले २९ जनाको ज्यान लिँदा १८९ जना घाइते भएका छन् ।

मनसुन अवधि र वर्षा

यस वर्ष मनसुन औसतभन्दा लामो अवधिसम्म रह्यो । सामान्यतया असारमा प्रारम्भ हुने मनसुन यसपटक जेठ १५ गते नै नेपाल प्रवेश गरी १३५ दिन रहँदै गत असोज २४ गते समाप्त भएको थियो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, यस अवधिमा देशभर एक हजार तीन सय ७५ दशमलव चार मिलिमिटर वर्षा रेकर्ड गरिएको छ, जुन सरदर (एक हजार चार सय १५ दशमलव पाँच मिलिमिटर) को ९७.२३ प्रतिशत हो ।

औसतभन्दा बढी वर्षा भए पनि प्राधिकरणका अनुसार मानवीय तथा भौतिक क्षति घट्नुको मुख्य कारण सरकारद्वारा प्रभावकारी तयारी र सहकार्य हो । मनसुन अवधिको अन्त्यतिर, विशेषतः असोज १७ देखि २० गतेसम्म मात्र ५३ जनाको मृत्यु भएको थियो ।
यस अवधिमा इलाम सबैभन्दा बढी प्रभावित जिल्ला बनेको थियो, जहाँ ३९ जनाले ज्यान गुमाएका थिए । त्यसपछि सरकारले इलामलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

प्रमुख घटना

गत असार २४ गते रसुवाको भोटेकोशीमा आएको बाढीले १८ जना बेपत्ता बनाएको थियो । तिनमध्ये ११ वटा शव र मानव अंग फेला परेका थिए । सो बाढीले रसुवागढी नाका नजिकको मितेरी पुल, सुक्खा बन्दरगाह र तीन जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको थियो । बाढीले ७६ वटा कार्गो र अन्य सवारीसाधन बगायो ।
त्यसैगरी, मनसुनको प्रारम्भिक चरणमा मधेश प्रदेशमा सुक्खाको समस्या देखिएपछि सरकारले साउन ८ गते उक्त प्रदेशलाई तीन महिनाका लागि सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

क्षति कम हुनुका कारण

प्राधिकरणका अनुसार, सरकारले पारित गरेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८२’ प्रभावकारी रूपमा कार्यान्वयन भएकाले क्षति घट्न सहयोग पुगेको हो ।
प्राधिकरणका कार्यकारी प्रमुखको नेतृत्वमा स्थापना गरिएको कमाण्ड सेन्टरले लगातार ३८ घण्टासम्म सम्बन्धित निकायहरूसँग समन्वय र निर्देशन जारी राखेको थियो ।

पछिल्ला १० वर्षको तथ्यांक

वर्षविपद्‌जन्य घटनामृत्यु संख्या
२०७३६४२२८९
२०७४६२४२८९
२०७५६९३१२२
२०७६८४६२०३
२०७७१,०१५३८२
२०७८७३७१६५
२०७९७१२१७९
२०८०८९१९२
२०८१२,१३९४९५
२०८२१,४५४१४०

गत दशकको तुलनामा यस वर्ष विपद्‌जन्य घटनाको संख्या घट्दै गएको देखिन्छ । औसतभन्दा बढी वर्षा भए पनि समन्वित तयारी र समयमै प्रतिकार्यका कारण जनधनको क्षति न्यून राख्न सफल भएको प्राधिकरणको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्