बागमती प्रदेशका मुख्य आर्थिक चुनौती र सम्भावना



काठमाडौँ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार बागमती प्रदेशमा आर्थिक विकासका विविध चुनौतीहरू विद्यमान छन् । सडक, स्वास्थ्य सेवा, खानेपानी, ढल र फोहोर व्यवस्थापन, पूर्वाधारयुक्त बस्ती विकास जस्ता भौतिक पूर्वाधार निर्माणका काम चुनौतीपूर्ण रहेको बैंकले प्रकाशित गरेको ‘आर्थिक वर्ष २०८१/८२ को आर्थिक गतिविधि अध्ययन’मा उल्लेख छ ।

प्राकृतिक प्रकोपको उच्च जोखिमका कारण रोकथाम र क्षति न्यूनीकरण पनि प्रमुख चुनौतीका रूपमा पहिचान गरिएको छ । अध्ययनमा भनिएको छ, “शिक्षामा गुणस्तर वृद्धि, स्वास्थ्य सेवा सर्वसुलभ र गुणस्तरीय बनाउने कार्य तथा सहज पहुँच विस्तार गर्नु कठिन छ ।”

सहरी क्षेत्रमा जनसङ्ख्या तीव्र रूपमा बढ्दा कृषियोग्य भूमि घट्दै गएको छ । त्यस्तै, पहाडी र हिमाली क्षेत्रमा बसाइँसराइ बढ्दा जमिन बाँझो हुने प्रवृत्तिले कृषियोग्य भूमिको संरक्षण र उपयोगमा सन्तुलन कायम गर्न गाह्रो भएको निष्कर्ष अध्ययनमा निकालिएको छ ।

जलवायु परिवर्तन र प्राकृतिक विपत्तिका असरले कृषि, जलविद्युत्, पूर्वाधार, उद्योग र सेवा क्षेत्रमा असर पार्ने भएकाले त्यसको निवारण गर्दै दिगो विकासका लागि लगानी बढाउनुपर्ने आवश्यकता औंल्याइएको छ । कृषिमा आश्रित जनसंख्यालाई स्थायी रोजगारी सिर्जना गर्न र उत्पादन वृद्धिका लागि प्रभावकारी नीतिगत हस्तक्षेप आवश्यक रहेको केन्द्रीय बैंकको निष्कर्ष छ ।

काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा जग्गाको मूल्य अत्यधिक बढेकाले निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई महँगो दरमा जग्गा लिजमा लिनुपर्ने समस्या देखिएको छ । यसले उत्पादन र सेवा क्षेत्रमा प्रतिस्पर्धात्मकता कायम राख्न कठिनाइ थपेको अध्ययनमा उल्लेख छ ।

तर, बागमती प्रदेशमा चुनौती मात्र नभई सम्भावनाहरू पनि प्रशस्त छन् । काठमाडौँ, भक्तपुर र ललितपुरजस्ता ऐतिहासिक सहरहरूले धार्मिक तथा सांस्कृतिक पर्यटनमा ठूलो योगदान दिन सक्ने क्षमता राख्छन् । देशकै व्यस्ततम अन्तर्राष्ट्रिय विमानस्थल यही प्रदेशमा रहेको र पर्याप्त पर्यटकीय पूर्वाधारका कारण आर्थिक विकासको सम्भावना उच्च रहेको राष्ट्र बैंकको निष्कर्ष छ ।

अध्ययनका अनुसार, भौगोलिक विविधता, कृषियोग्य भूमि, जलविद्युत्, पर्यटन र व्यापार क्षेत्रका लगानी अवसरहरूले रोजगारी सिर्जना र आर्थिक वृद्धि गर्न सक्ने आधार तयार छन् । सूचना प्रविधि र सञ्जालीकरणको तीव्र विकासले पनि दिगो आर्थिक वृद्धि सम्भव हुने देखिएको छ ।

यस प्रदेशका नदी र जलस्रोतको उच्चतम उपयोगबाट जलविद्युत् उत्पादनमा ठूलो सम्भावना छ । कृषि क्षेत्रमा नयाँ प्रविधि, गुणस्तरीय बिउबिजन र प्राविधिक सहयोग प्रयोग गरी व्यवसायीकरण बढाउन सकिने, जडीबुटी खेती र प्रशोधन उद्योगमार्फत बहुआयामिक लाभ लिन सकिने अध्ययनमा उल्लेख छ ।

पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसार र सेवामूलक उद्योग स्थापनामार्फत प्रत्यक्ष तथा परोक्ष रोजगारी सिर्जना गर्न सकिने सम्भावना पनि अध्ययनले औंल्याएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रारम्भिक विवरणअनुसार, आर्थिक वर्ष २०८१/८२ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.२ प्रतिशत रहने अनुमान गरिएको छ । गत वर्ष यो दर ३.७ प्रतिशत थियो ।

त्यस वर्ष प्रदेशको कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) रु २२ खर्ब ३० अर्ब २३ करोड पुग्ने अनुमान गरिएको छ । यसमा कृषि क्षेत्रको योगदान ११.८ प्रतिशत, उद्योग क्षेत्रको ११.१ प्रतिशत र सेवा क्षेत्रको ७७.१ प्रतिशत रहने अपेक्षा गरिएको छ ।

राष्ट्रिय अर्थतन्त्रमा बागमती प्रदेशको अंश कृषि क्षेत्रमा १७.१ प्रतिशत, उद्योग क्षेत्रमा ३१.७ प्रतिशत र सेवा क्षेत्रमा ४५.४ प्रतिशत रहने अनुमान छ ।

प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा थोक तथा खुद्रा व्यापार, गाडी र मोटरसाइकल मर्मत सेवाको हिस्सा सबैभन्दा बढी छ । घरजग्गा कारोबारको अंश १५.२ प्रतिशत, कृषि–वन–मत्स्यपालनको ११.८ प्रतिशत, वित्तीय तथा बीमा सेवाको ११.२ प्रतिशत, यातायात तथा भण्डारणको ९.३ प्रतिशत र उत्पादनमूलक उद्योगको अंश ४.९ प्रतिशत रहेको अध्ययनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्