
विराटनगर । कोशी प्रदेशमा यो वर्ष लम्पी स्कीन रोगका कारण एक हजार ११६ वटा चौपायाको मृत्यु भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, सुनसरी धरानले जनाएको छ। कुनै पनि समयमा देखा पर्न सक्ने यो रोग यस वर्ष गर्मी र बर्सातको मौसममा फैलिएको थियो।
निर्देशनालयका पशु चिकित्सक पुरुषोत्तम पाण्डेका अनुसार प्रदेशका तीन लाख ९४ हजार ५८५ चौपायामध्ये तीन लाख १५४ मा लम्पी स्कीन रोग संक्रमण पुष्टि भएको थियो। भाइरसजन्य यो रोगबाट बचाउन निर्देशनालयले समयमै खोप अभियान सञ्चालन गरेको र रोग नियन्त्रणमा लिन सफल भएको उनले बताए।
कोभिड–१९ को समयमा अस्ट्रेलियाबाट भित्रिएको मानिने यो रोग यस वर्ष सोलुखुम्बु बाहेक कोशी प्रदेशका सबै जिल्लामा फैलिएको थियो। तर पाँचथर र तेह्रथुममा भने यस रोगका कारण कुनै चौपायाको मृत्यु भएको छैन।
गाईभैँसीमा लाग्ने यो रोगको संक्रमणपछि जीउमा गिर्खा जस्तो फोका देखिने, ज्वरो आउने, घाउ फुट्ने, तौल घट्ने र शरीर कमजोर हुनेजस्ता लक्षण देखिने निर्देशनालयले जनाएको छ।





