च्याङ्ग्रापालनबाट वार्षिक पाँच लाखभन्दा बढी कमाइ गर्दै मुस्ताङका पूर्णबहादुर |



मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमका पूर्णबहादुर नेपालीले च्याङ्ग्रापालन व्यवसायबाट वार्षिक पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएका छन्। पाँच वर्षअघि हिमाली उपआयोजनाको सहयोगमा उनले मात्र एक हजार रुपैयाँको प्रारम्भिक लगानीबाट यो व्यवसाय सुरु गरेका थिए।

सुरुवाती चरणमा दलित समुदायका ३० घरधुरीले सामूहिक रूपमा च्याङ्ग्रापालन थालेका थिए। प्रत्येक घरधुरीले एक हजार रुपैयाँ तिरेर तीनवटा माउ (रमा) च्याङ्ग्रा पाएका थिए। तर, सामूहिक रूपमा पालन गर्दा च्याङ्ग्रा हराउने र मर्ने समस्या देखिएपछि एक वर्षभित्रै उनीहरूले व्यक्तिगत रूपमा पाल्ने निर्णय गरे।

भागबन्डामा दुईवटा च्याङ्ग्रा पाएका पूर्णबहादुरले त्यसमा थप १० वटा थपेर कुल १२ च्याङ्ग्राबाट आफ्नो व्यवसायिक यात्रा सुरु गरेका थिए। अहिले उनको फार्ममा १३० भन्दा बढी च्याङ्ग्रा छन्। चालु वर्षमा मात्र उनले २० भन्दा बढी च्याङ्ग्रा ४० हजार रुपैयाँको दरले बिक्री गरेका छन्।

पूर्णबहादुरको मुख्य आम्दानी च्याङ्ग्राको पाठा–पाठी र च्याङ्ग्राको मल बिक्रीबाट हुन्छ। उनी हरेक वर्ष करिब २०० झोपा मल बिक्री गरेर दुई लाख रुपैयाँभन्दा बढी कमाइ गर्छन्। उनले बताए, “मल बिक्रीबाट आएको आम्दानीले दाना किन्न र गोठालेलाई तलब दिन पुग्छ, बाँकी सबै नाफा रहन्छ।”

यद्यपि जलवायु परिवर्तन र हिउँचितुवा जस्ता वन्यजन्तुको आक्रमणका कारण धेरैले यो व्यवसाय त्यागेका छन्, पूर्णबहादुर भने कृषि र पशुपालनलाई एकसाथ अघि बढाउँदै यसलाई दीर्घकालीन रूपमा विस्तार गर्ने लक्ष्यमा छन्।

प्रतिक्रिया दिनुहोस्