
काठमाडौं, कात्तिक २५ गते।
१७औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा कन्स्टिलेसन र ज्ञान निकेतनले ब्वाइजतर्फ प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन्। हात्तीगौडास्थित आयोजक ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) को कोर्टमा मंगलबार भएको खेलमा कन्स्टिलेसनले हेम्सलाई ५३–५० ले हरायो। कन्स्टिलेसनका सोदिन तामाङले उत्कृष्ट प्रदर्शन गर्दै २२ अंक जोडे।
त्यस्तै, ज्ञान निकेतनले सवाज मन्सुरको १० अंकको सहयोगमा जोन डेवीलाई ३०–१७ ले पराजित गर्यो। एलआरआईले काठमाडौं युरोलाई ३३–२० ले हराउँदै प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ। एलआरआईका आश्रित थापाले १० अंक जोड्दै टोलीलाई जित दिलाए।
ब्वाइजतर्फ स्किब्स, विल्सन एकेडेमी, बीएमसीए, अपी स्कुल, भ्याली पब्लिक, टीआईए ‘ए’, युरो स्कुल, निम्स, ग्रिनल्यान्ड, दुर्गा भवानी, श्री मंगलदीप र भीएस निकेतन पनि प्रिक्वाटरफाइनलमा पुगेका छन्।
गल्र्स समूहमा ज्ञानोदयले टीआईए ‘बी’ लाई २०–१०, ग्रिनल्यान्डले युरोलाई २६–१८ र काष्ठमण्डप विद्यालयले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई २९–१५ ले हराएका छन्। ज्ञानोदयकी सिमरन, ग्रिनल्यान्डकी प्रसिद्धी भण्डारी र काष्ठमण्डपकी कस्भीले क्रमशः १०, १० र ११ अंक जोडेका थिए।





