बारपाक–लाप्राक सडकखण्ड दुई दिनका लागि बन्द, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह |



गोरखा । बारपाक–लाप्राक सडकखण्डको स्तरोन्नति कार्यका कारण दुई दिनका लागि सवारीसाधन आवागमन रोकिएको छ । आज (मंगलबार)देखि बुधबारसम्म सडक निर्माणका क्रममा पूर्ण रूपमा यातायात सञ्चालनमा रोक लगाइएको हो ।

बारपाक सुलिकोट गाउँपालिका–१ बारपाक र धार्चे गाउँपालिका–४ लाप्राकलाई जोड्ने सो सडकमा निर्माण कार्य तीव्र बनाउन यातायात बन्द गरिएको धार्चे–४ का वडाध्यक्ष किसान गुरुङले जानकारी दिए । उनका अनुसार निर्माण कम्पनीले ‘व्याक कटिङ’ तथा अन्य संरचना निर्माण गर्नका लागि दुई दिन सवारीसाधन पूर्ण रूपमा रोक्ने निर्णय गरेको हो ।

शर्मा/विक्की जेभी निर्माण कम्पनीमार्फत सडक स्तरोन्नतिको काम भइरहेको छ । वडाध्यक्ष गुरुङले तोकिएको अवधिभन्दा काम ढिलाइ भइरहेकाले असुविधा भएको भन्दै सवारीसाधन सञ्चालन गर्नेहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरे ।

गोरखाको प्रमुख पर्यटकीय गन्तव्य बारपाक र लाप्राकलाई जोड्ने यो सडकखण्ड निर्माण ढिलाइका कारण हरेक वर्ष बर्खायाममा लामो समयसम्म अवरुद्ध हुने गरेको छ । विसं २०७७ जेठमा ठेक्का सम्झौता गरी २०७९ जेठभित्र काम सम्पन्न गर्ने योजना रहे पनि हालसम्म सडक स्तरोन्नति कार्य पूरा हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्