
भोजपुर । गाईभैँसीमा देखिने खोरेत रोग नियन्त्रण र उन्मूलनका लागि भोजपुरमा एक महिने खोप अभियान सुरु गरिएको छ। भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्र भोजपुरका अनुसार यो अभियानले जिल्लाभरका किसानका पशुहरूलाई रोगमुक्त बनाउन योगदान पुर्याउनेछ।
सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज दाहालका अनुसार कात्तिक २३ गतेदेखि मङ्सिर २३ गतेसम्म चल्ने यो अभियान जिल्लाका सबै नौवटै स्थानीय तहमा सञ्चालन हुनेछ। उनका अनुसार, “खोरेत रोग नियन्त्रणका लागि ६७ हजार डोज खोप उपलब्ध भएको छ, र खोपकर्तामार्फत किसानकै गोठमा पुगेर खोप लगाइने व्यवस्था मिलाइएको छ।”
कोशी प्रदेश सरकारले ‘पशुजन्य पदार्थ निर्यातमा टेवा पुर्याई किसानलाई आर्थिक रूपमा समृद्ध बनाऔँ’ भन्ने नाराका साथ सञ्चालन गरेको यस अभियानले पशुजन्य उत्पादन वृद्धि र किसानको आम्दानीमा सुधार ल्याउने लक्ष्य लिएको छ।
अभियानअन्तर्गत प्रत्येक बस्तीमा खोपकर्ताले घरमै पुगेर खोप लगाउने व्यवस्था गरिएको छ, जसले ग्रामीण किसानलाई सहज सेवा उपलब्ध गराउने कार्यालयको भनाइ छ। पहिलो चरण सकिएपछि दोस्रो चरणमा पुनः खोप अभियान सञ्चालन र रोग अवस्थाको अनुगमन गरिने पनि जनाइएको छ।
प्रमुख दाहालका अनुसार अधिकांश किसान पशुपालनमा निर्भर भए पनि सामान्य रोग र उपचारबारे जानकारीको अभावका कारण समस्या झेल्दै आएका छन्। त्यसैले यो अभियानसँगै जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको छ। उनले आशा व्यक्त गरे, “यो खोप अभियानले खोरेत रोग नियन्त्रणसँगै किसानलाई दीर्घकालीन रूपमा आर्थिक सबलीकरणतर्फ अघि बढाउनेछ।”





