
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, नौखरीका मुक्तकमैया परिवारहरू व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै गएका छन्। परम्परागत खेती प्रणालीमा निर्भर रहेका उनीहरूले हाल आधुनिक मल्चिङ प्रविधि अपनाउँदै उत्पादन र आम्दानी दुवै बढाउन सफल भएका छन्।
मुक्तकमैया महिला विकास मञ्च धनगढीले २५ मुक्तकमैया परिवारलाई मल्चिङ प्रविधिबारे प्रशिक्षण दिई मल्चिङ प्लास्टिकसहित आधुनिक खेतीका उपकरण उपलब्ध गराएको हो। मञ्चकी निवर्तमान अध्यक्ष कौशिला चौधरीका अनुसार आधुनिक प्रविधि प्रयोगका साथ बीउबिजन, रासायनिक मल, कीटनासक र ढुसीनासक विषादी पनि अनुदानमा वितरण गरिएको छ।
किसान स्वस्तिमा चौधरीका अनुसार मल्चिङ प्रविधि प्रयोग गरेपछि रोग, कीरा र झारपातको समस्या कम भएको छ। “मल्चिङले माटोमा चिस्यान कायम राख्छ, जसले बाली राम्रोसँग बढ्न मद्दत गर्छ,” उनले भनिन्। तीन वर्षयता स्थानीय किसानहरूले खुर्सानी, गोलभेँडा र सिमला मिर्च खेतीमा यो प्रविधिको प्रयोग गर्दै आएका छन्।
दोब्बर उत्पादन र आम्दानी
मल्चिङ प्रविधिबाट उत्पादित बाली परम्परागत खेतीको तुलनामा दोब्बर भएको किसानहरूको अनुभव छ। पहिले सिजनमा रु. ५० देखि ७० हजारसम्मको तरकारी बिक्री गर्ने किसानहरू अहिले रु. दुई लाखदेखि पाँच लाखसम्म आम्दानी गर्न थालेका छन्।
शुक्लाफाँटा नगरपालिकाको कृषि विकास शाखाका अधिकृत विनयराज जोशीका अनुसार मल्चिङ प्रविधिले माटोको आद्रता जोगाउने, झारपात नियन्त्रण गर्ने र बाली उत्पादन बढाउने उद्देश्य राख्छ। “यो प्रविधिले पानीको वाष्पीकरण रोक्छ, सिँचाइको आवश्यकता घटाउँछ, र सूर्यको प्रकाश माटोमा नपुग्दा झारपात उम्लिन नपाउने भएकाले श्रम र लागत दुवै घट्छ,” उनले स्पष्ट पारे।
महिलाको आत्मनिर्भरता र सहकार्य
मुक्तकमैया महिला विकास मञ्चकी अध्यक्ष सीमा चौधरीले विगत पाँच वर्षदेखि महिलाको आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले तरकारीखेती, बङ्गुरपालन र कुखुरापालनजस्ता कार्यक्रम सञ्चालन हुँदै आएको बताइन्।
वडाध्यक्ष बहादुरसिंह महराले थोरै जग्गामा व्यावसायिक खेती गरेर आत्मनिर्भर बन्ने मुक्तकमैया परिवारप्रति सन्तोष व्यक्त गर्दै, “व्यावसायिक काम गर्ने परिवारलाई वडाबाट पनि प्रोत्साहन र सहयोग दिइनेछ,” भने।





