
हुम्ला । गए राति मुगुमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बाजुराबाट हुम्लाको पिपलमुडास्थित विद्युत् सबस्टेसनमा जडानका लागि पोल ढुवानी गरिरहेको लु ५ त १२३७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।
सोरु गाउँपालिकाको केन्द्रतर्फ जाँदै गरेको सो ट्याक्टर उकालोमा ब्रेक फेल हुँदा करिब ७०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा बाजुरा गौमुल गाउँपालिका–३ का २४ वर्षका सुरेश रोकायाको घटनास्थलमै मृत्यु भएको सोरुकोट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बलवीर लावडले जानकारी दिए ।
घटनामा हुम्ला अदानचुली गाउँपालिका–२ का २८ वर्षीय रेशम भण्डारी गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल मुगु लगिएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त ट्याक्टरमा चालक रोकाया र भण्डारी मात्र सवार रहेको पनि प्रहरीले पुष्टि गरेको छ ।





