मानव स्वास्थ्य र वातावरणीय असरपछि इँटा उद्योग बन्दको माग



तनहुँ । तनहुँको व्यास नगरपालिका–१ मा सञ्चालन भइरहेको एक इँटा उद्योगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर असर पारेको भन्दै स्थानीय बासिन्दा र सामुदायिक वन उपभोक्ताहरूले उद्योग तत्काल बन्द गर्न माग गरेका छन्।

भद्रु सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चिनबहादुर भण्डारीका अनुसार उद्योगबाट निस्कने धुँवाले स्थानीय बासिन्दाको स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको छ। उनले भने, “सरकारले कोइलामात्र प्रयोग गर्न पाउने प्रावधान तोकेको भए पनि सञ्चालकले दाउराको प्रयोग गरेर अत्यधिक धुँवा निकालिरहेका छन्, जसले स्वास्थ्य र वातावरण दुवैलाई क्षति पु-याएको छ।”

स्थानीयवासीले आँखामा पोल्ने, घाँटी दुख्ने, श्वास फेर्न कठिनाइ हुने, र बोटबिरुवा सुक्ने समस्या बढेको बताएका छन्। सोही कारण, सामुदायिक वनमा आबद्ध १८० उपभोक्तामध्ये १४० जनाले उद्योग बन्द गरी स्वच्छ वातावरण कायम गर्न माग गर्दै घरेलु तथा पर्यटन कार्यालयमा निवेदन दर्ता गरेका छन्।

कोषाध्यक्ष कुलबहादुर दरैका अनुसार औद्योगिकीकरणभन्दा मानव स्वास्थ्य महत्वपूर्ण भएको र प्रदूषण नियन्त्रण गर्न तुरुन्त उद्योग बन्द गर्नुपर्ने आवश्यकता देखिएको छ। उनले भने, “हामी अब सचेत भएका छौँ — स्वच्छ वायु र स्वस्थ जीवनका लागि प्रदूषण फैलाउने उद्योग रोक्नैपर्छ।”

उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशका उपसचिव महाराज ढकालले उद्योग क्षेत्रको अनुगमनपछि प्रारम्भिक रूपमा उद्योग सञ्चालन स्थगन गर्नुपर्ने निष्कर्ष निकालेका छन्। उनले भने, “मानव स्वास्थ्यमा प्रत्यक्ष असर परेको प्रमाण देखिएकाले विस्तृत अध्ययन नभएसम्म उद्योग रोक्नु नै उचित हुन्छ।”

उद्योग सञ्चालनको क्रममा सामुदायिक वनको क्षेत्रभित्र अवैध रूपमा रुख कटानी र उत्खनन गरिएको आरोप पनि उपभोक्ता समूहले लगाएको छ। उनीहरूको भनाइमा उद्योगले ‘डिमार्केशन पिलर’ तोड्दै वन क्षेत्रमा अतिक्रमण गरेको छ।

तर, उद्योग सञ्चालक रामदेव पन्थले भने उद्योगमा करिब ६ सय कामदारको रोजगारी जोखिममा पर्ने भन्दै तत्काल बन्द नगर्न आग्रह गरेका छन्। उनले भने, “हामी नियमअनुसारै काम गर्छौं, उद्योग बन्द भए कामदारहरूको जीवन कठिन हुनेछ।”

सामुदायिक वन उपभोक्ताहरूले भने मानव स्वास्थ्य र वातावरणलाई दीर्घकालीन रूपमा जोगाउन उद्योग बन्द गर्नैपर्ने अडान लिएका छन्।

प्रतिक्रिया दिनुहोस्