केन्द्रीय बैंकद्वारा उपदान कोषका तीन अर्ब ७० करोड लगानी गर्ने तयारी |



काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ७० करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा एक वर्षका लागि लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले यस सम्बन्धमा सार्वजनिक सूचना जारी गर्दै लगानीका लागि आवश्यक सर्तहरू उल्लेख गरेको छ ।

सूचना अनुसार, ‘क’ वर्गका वाणिज्य बैंकहरूमा दुई अर्ब ९६ करोड, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकहरूमा ५५ करोड ५० लाख, र राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा १८ करोड ५० लाख रुपैयाँ बराबरको रकम लगानी गरिनेछ ।

लगानीका लागि योग्यता प्राप्त गर्न बैंक तथा वित्तीय संस्थाले कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेका हुनुपर्ने, तोकिएको न्यूनतम पुँजी कोष कायम गरेको, निष्क्रिय कर्जा अनुपात ८ प्रतिशतभन्दा बढी नभएको र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशतभित्र सीमित हुनुपर्ने उल्लेख छ ।

त्यसैगरी, कर्जा–निक्षेप अनुपात नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेको र अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण अनुसार संस्थाले खुद नाफा गरेको हुनुपर्ने सर्त राखिएको छ ।

योग्य बैंक तथा वित्तीय संस्थाले प्रस्तावित ब्याज दरसहित आवेदन दिनुपर्ने सूचनामा उल्लेख गर्दै राष्ट्र बैंकले तोकिएको मापदण्ड पूरा गर्ने संस्थाबाट आवेदन माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्