धार्मिक गन्तव्यका रूपमा विकसित हुँदै थानीमाई मन्दिर



तनहुँ । भानु नगरपालिका–७ वसन्तपुरमा अवस्थित प्रसिद्ध थानीमाई मन्दिर पछिल्ला वर्षहरूमा धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। यहाँ प्रत्येक वर्ष देशका विभिन्न भागबाट भक्तजनहरू फूलको डोलीसहित पूजाआजाका लागि आउने गर्छन्।

थानीमाई मन्दिर व्यवस्थापन समितिका अनुसार कात्तिक महिनाका दुई मङ्गलबारमा मात्रै १५ हजार ५५७ जना भक्तजनले मन्दिरमा दर्शन तथा पूजाआजा गरेका छन्। पहिलो मङ्गलबार औँसी परेको कारण फूलको डोली नभित्र्याइए पनि दोस्रो मङ्गलबार (११ गते) ८ हजार र तेस्रो मङ्गलबार (१८ गते) ७ हजार ५५७ जना भक्तजनले मन्दिरमा पूजा अर्चना गरेका थिए।

ती दुई मङ्गलबारमा एक सय ४४ वटा फूलका डोली मन्दिरमा भित्रिएका थिए। समितिका अध्यक्ष जीवन थापाका अनुसार तनहुँबाट ५९, लमजुङबाट ३५, गोरखाबाट २३, चितवनबाट १६, कास्कीबाट सात, काठमाडौंबाट तीन र नवलपरासीबाट एक फूलको डोली भित्राइएको थियो।

अध्यक्ष थापाका अनुसार असोज, कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाका मङ्गलबारहरूमा देशभरका भक्तजनहरूले फूलको डोलीसहित थानीमाई मन्दिरमा दर्शन गर्न आउने गर्छन्। भक्तजनहरू डोली र पञ्चैबाजासहित तीन पटक मन्दिरको परिक्रमा गरी माथि थुम्कास्थित मन्दिर परिसरमा तोरण बाँधेर पूजाआजा गर्छन्। यस्तो कार्यले मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ।

परम्पराअनुसार भक्तजनहरूले प्रत्येक सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्छन् र मङ्गलबार मन्दिरमा चढाउँछन्। साउन, एकादशी र औँसीबाहेकका दिनमा मन्दिरमा पूजाअर्चना हुने गर्दछ।

१,२०० मिटर उचाइमा अवस्थित मन्दिरबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोट लगायतका क्षेत्र र हिमशृङ्खलाका रमणीय दृश्य अवलोकन गर्न सकिन्छ।

विसं २०७२ को भूकम्पमा क्षति पुगेको मन्दिरको पुनर्निर्माण रु २० लाखको लागतमा सम्पन्न गरिएको हो, जसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रु १४ लाख र मन्दिरको भेटीबाट रु ६ लाख सहयोग जुटाइएको थियो।

स्थानीय ज्येष्ठ नागरिकका अनुसार थानीमाई मन्दिरमा विसं १८२५ देखि पूजाआर्चना सुरु भएको हो। कथनअनुसार त्यतिबेला ‘भोटेनी आमाछोरी’ नामकी स्त्री हावाहुरी चलेपछि एउटा रुखमा ओत लाग्दा अन्तर्ध्यान भएकी थिइन्, र सोही स्थानमा त्यसबेलादेखि मन्दिर स्थापना भई पूजा सुरु गरिएको विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्