
सिरहा, २५ कात्तिक २०८२
मोन्था चक्रवातको प्रभावमा परेको बेमौसमी वर्षाले सिरहामा करिब १० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा रहेका धानबालीमा ठूलो क्षति पुर्याएको छ।
जिल्लाका आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ स्थानीय तहका कृषि शाखाबाट प्राप्त प्रारम्भिक विवरणअनुसार १० हजार ७२८ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली प्रभावित भएको छ।
तीमध्ये लहान नगरपालिकामा सबैभन्दा बढी २ हजार २३२ हेक्टर, औरही नगरपालिकामा १ हजार ३५८ हेक्टर र नरहा गाउँपालिकामा करिब ८०० हेक्टर क्षेत्रको धानमा क्षति पुगेको जनाइएको छ।
लहान नगरपालिका कृषि शाखा प्रमुख प्रकाश साहका अनुसार किसानले लगाएका बासमती र सुक्खा प्रजातिका धानमध्ये करिब ५० प्रतिशत बाली नष्ट भएको छ। “किसानले राम्रो मूल्यको आशामा उन्नत जातका धान रोपेका थिए, तर वर्षाले सबै मेहनत बगायो,” उनले बताए।
पूर्व–पश्चिम राजमार्गको दक्षिणतर्फका अधिकांश क्षेत्र बोरिङ, भूमिगत सिँचाइ तथा कमला नहर प्रणालीबाट सिञ्चित भएकाले त्यहाँ लगाइएका उन्नत जातका धानमा बढी क्षति भएको कृषि ज्ञान केन्द्र सिरहाले जनाएको छ।
केन्द्रका प्रमुख नरेन्द्रकुमार महासेठका अनुसार बेमौसमी वर्षाले पाक्न लागेको धान ढालिदिँदा दाना कुहिने र उत्पादन घट्ने अवस्था देखिएको छ। “उत्पादनमा उल्लेख्य गिरावट आउने निश्चित छ,” उनले भने।
गत वर्ष सिरहामा ५५ हजार ३४५ हेक्टर क्षेत्रमा धानखेती गरेर दुई लाख २८ हजार ६९६ मेट्रिकटन धान उत्पादन भएको थियो। यस वर्ष भने ५४ हजार हेक्टर वर्षे र १ हजार ३४५ हेक्टर चैते धानखेती भए पनि बेमौसमी वर्षाका कारण उत्पादनमा ठुलो कमी आउने अनुमान गरिएको छ।





