महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै



काठमाडौँ । किरात धर्मका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती मंगलबार देशभर विविध कार्यक्रमका साथ श्रद्धापूर्वक मनाइँदैछ ।

वि.सं. १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा जन्मिएका फाल्गुनन्द किरात, भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारका महान् अभियन्ता मानिन्छन्। उहाँले समाज सुधारका लागि ‘सत्य धर्म मुचुल्का’ नामक नीति निर्माण गर्नुभएको थियो, जुन वि.सं. १९८८ वैशाख २४ गते जारी गरिएको हो।

किरात समाज सुधारमा उल्लेखनीय योगदान पुर्‍याएका फाल्गुनन्दको वि.सं. २००५ मा निधन भएको थियो। उहाँको योगदानको कदरस्वरूप नेपाल सरकारले वि.सं. २०६६ मङ्सिर १६ गते उहाँलाई राष्ट्रिय विभूति घोषित गरेको थियो।

फाल्गुनन्दको जयन्ती किरात समुदायका बसोबास रहेका ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापा लगायतका पूर्वी पहाडी जिल्लासहित देशभरका विभिन्न ठाउँमा मनाइँदैछ। राजधानी काठमाडौँमा पनि किरात समुदायले सांस्कृतिक र धार्मिक कार्यक्रममार्फत महागुरुको सम्झना गरिरहेका छन्।

किरात ज्योतिष सङ्घका अध्यक्ष चन्द्रकुमार शेर्माका अनुसार राजधानीमा पनि विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी महागुरु फाल्गुनन्दको शिक्षाको प्रचार–प्रसार गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्