
निजगढ– पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डको १२ किलोमिटर क्षेत्रमा आज हात्तीको आक्रमणमा परी ट्रक चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१, भक्तिनगरका ४० वर्षीय राजकुमार चौधरी रहेका छन्।
प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार, वन क्षेत्रबाट सडकतर्फ निस्किएको जङ्गली हात्तीले ना ४ ख १८३० नम्बरको ट्रकका चालक चौधरीलाई आक्रमण गरेको थियो। ज्यान जोगाउन ट्रकबाट ओर्लिएर भागेका चौधरीलाई राजमार्गभन्दा केही भित्रै जङ्गलमा हात्तीले टोकेको थियो।
घटनापछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक तामाङ, डिभिजन वन कार्यालयका प्रमुख राजिव झा लगायत सुरक्षा निकायका प्रमुखहरू घटनास्थल पुगेका छन्। हात्तीले बारम्बार जङ्गलबाट राजमार्गतर्फ निस्किँदा दिनभरि यातायात सेवा प्रभावित भएको छ।
हात्तीलाई भगाउन विभिन्न प्रयास गरिए पनि सफलता हासिल भएको छैन। जङ्गलमा प्रवेश गरेको बेला सुरक्षाकर्मीको सहयोगमा रोकिएका सवारीसाधनलाई मात्रै राजमार्गतर्फ पठाइएको प्रहरी उपरीक्षक तामाङले जानकारी दिए।
हात्तीले आइतबार रातिदेखि नै सो क्षेत्रमा उपद्रो मच्चाइरहेको थियो। राति करिब १० बजे हात्ती देखिएपछि नेपाली सेना र नेपाल प्रहरीको टोलीले तत्कालै नियन्त्रणमा ल्याउने प्रयास गरेको थियो। डिभिजन वन कार्यालयका प्रमुख झाले चितवनबाट विज्ञ टोली आउने र हात्ती नियन्त्रणमा लिने तयारी भइरहेको जानकारी दिए।
नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रवक्ता वकिल सिंहले पनि हात्तीको कारण राजमार्गमा यातायात सेवा अवरुद्ध भइरहेको बताए।





