हेम्जाकोट : माछापुच्छ्रे हिमाल नजिकैको आकर्षक गन्तव्य | पर्यटन र इतिहासको संगम



कास्की । माछापुच्छ्रे गाउँपालिका–६ मा अवस्थित हेम्जाकोट गाउँ नजिकबाट माछापुच्छ्रे हिमाल नियाल्न चाहने पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकसित भइरहेको छ। चाँदीझैँ टल्कने हिमशृङ्खला, हरियालीले ढाकिएका वनजङ्गल र ढुङ्गाका छानाले बनेका परम्परागत घरहरू यहाँको प्रमुख आकर्षण हुन्।

प्राकृतिक सुन्दरतासँगै हेम्जाकोटको ऐतिहासिक महत्त्व पनि उत्तिकै छ। सामुदायिक हेम्जाकोट होमस्टेका अध्यक्ष ईश्वर गुरुङका अनुसार, बाइसे–चौबीसे राज्यकालमा गाउँमाथि रहेको ‘कोट’ अर्थात् दरबारबाट नै यस स्थानको नाम ‘हेम्जाकोट’ रहन गएको हो। गाउँ नजिकैको जयकोट नामक टाकुरामा बलिपूजाको परम्परा रहेको छ, जहाँ दिइएको प्रसाद महिलाले घरमा लैजान नहुने धार्मिक विश्वास छ।

हेम्जाकोटमा सन् २००५ (वि.सं. २०६२) देखि घरबास (होमस्टे) सेवा सुरु गरिएको हो। हाल १२ वटा घरमा होमस्टे सञ्चालनमा छन्, जसमा करिब ८० पाहुनाको बसोबास व्यवस्था छ। होमस्टे सञ्चालकहरूले खाजा, रात्रीभोज, बास र बिहानको नास्तासहितको १,२०० रुपैयाँको प्याकेज सञ्चालन गर्दै आएका छन्।

पोखराको सिमपानीबाट करिब १८ किलोमिटर दूरीमा अवस्थित यो गुरुङ बस्तीलाई सन् २०१५ (वि.सं. २०७२) मा पर्यटन मन्त्रालयले ‘उत्कृष्ट गाउँ पर्यटन गन्तव्य’ को मान्यता दिएको थियो।

‘माछापुच्छ्रे मोडल ट्रेक’ मार्गमा पर्ने हेम्जाकोटमा पर्यटन सिजनमा स्वदेशी तथा विदेशी पर्यटकको भीड लाग्ने गर्छ। गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङका अनुसार, शान्त वातावरण, गुरुङ संस्कृति र हिमालको मनोरम दृश्यावलोकन हेम्जाकोटको पहिचान हो। हालसालै यो क्षेत्र म्युजिक भिडियो र चलचित्र छायाङ्कनका लागि पनि आकर्षक स्थल बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्