म्याग्दीका किसान उन्नत जातका धानखेतीतर्फ आकर्षित



म्याग्दी । जिल्लाका किसानहरू पछिल्ला वर्षमा रैथाने धानभन्दा उन्नत जातका धानखेतीतर्फ बढी आकर्षित भएका छन् । उत्पादन वृद्धि र बजार मागलाई प्राथमिकता दिँदै किसानहरूले परम्परागत धानबालीलाई विस्थापित गर्दै नयाँ जातका धान लगाउने क्रम तीव्र भएको छ ।

धानखेतीका लागि प्रसिद्ध ज्यामरुककोट, रत्नेचौर, पुलाचौर, बाबियाचौर, राखुललगायतका फाँटमा पहिले गौरिया, गुडुरा, जेठोबुढो, ताकमारे, जौधानजस्ता रैथाने धान लगाउने चलन थियो । तर अहिले ती स्थानीय जातका धान प्रायः हराइसकेका छन् ।

कृषि प्राविधिकका अनुसार अब जिल्लामा रैथाने धान लगाउने किसानहरू निकै न्यून छन् । रैथाने धानका सट्टा माछापुच्छ्रे, अन्नपूर्ण–३, खुमल–४, खुमल–१०, लुम्ले–२ जस्ता उन्नत जातका धानखेतीतर्फ कृषकको झुकाव बढ्दै गएको छ ।

बेनी नगरपालिका–१ रत्नेचौरमा औषधीय गुणसमेत भएको ‘जौधान’को खेती हराउँदै जाँदा त्यसबाट तयार हुने प्रसिद्ध ‘भुजा’ पनि इतिहासमा सीमित हुँदै गएको छ ।

यद्यपि, कृषि ज्ञान केन्द्र म्याग्दीले स्थानीय जातका धानको बीउ संरक्षणमा जोड दिइरहेको छ । केन्द्रका अनुसार किसानहरू उन्नत जात रोज्न थालेपछि रैथाने धान संरक्षण अभियान नै संकटमा परेको छ ।

मङ्गला गाउँपालिकाले रैथाने जातका धानको बीउ संरक्षणका लागि पहल थालेको कृषि प्राविधिक प्रशान्त पौडेलले जानकारी दिए । उनका अनुसार रोगसँग लड्ने क्षमतामा कमी भएकाले परम्परागत धानलाई रोग प्रतिरोधी जातसँग ‘क्रसिङ’ गरेर संरक्षण अभियान चलाइएको छ । सङ्कलित बीउहरू खुमलटारस्थित ‘जिन बैंक’मा सुरक्षित राख्ने गरिएको पनि उनले बताए ।

स्थानीय पदमपाणि शर्माका अनुसार पहिले गौरिया र गुडुरा धान खेतमा झुल्दा वरपर बास्ना फैलिन्थ्यो, तर अहिले रासायनिक मलको अत्यधिक प्रयोगले स्वाद र सुगन्ध दुबै हराउँदै गएका छन् ।

कृषि ज्ञान केन्द्रका तथ्यांकअनुसार म्याग्दीमा हाल करिब ३,८९० हेक्टर क्षेत्रफलमा धानखेती भइरहेको छ । किसानहरू उत्पादनमा वृद्धि ल्याउन उन्नत जाततर्फ आकर्षित भइरहेका भए पनि रैथाने धानबाली लोप हुँदै जानु कृषक र कृषि विज्ञ दुवैका लागि चिन्ताको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्