
काठमाडौँ । द गुरुकुलम स्कुलको आयोजनामा दोस्रो गुरुकुलम इन्टर स्कुल फुटसल च्याम्पियनसिप कात्तिक २६ गतेदेखि सुरु हुने भएको छ । प्रतियोगिता सितापाइलास्थित द गुरुकुलम स्कुलको फुटसल ग्राउन्डमा कात्तिक २६ र २७ गते दुई दिनसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा उपत्यकाका २० विद्यालयले सहभागिता जनाउने छन् । संयोजक मनोज वैश्यका अनुसार सहभागी विद्यालयहरूलाई पाँच समूहमा विभाजन गरिएको छ, जसअन्तर्गत प्रत्येक समूहमा चार टोली रहनेछन् । प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन हुनेछ । लिग चरणपछि हरेक समूहको शीर्ष स्थानमा रहने टोली दोस्रो चरणमा प्रवेश गरी सुपर फाइभ राउन्डमा प्रतिस्पर्धा गर्नेछ ।
च्याम्पियनसिपको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्की फुटबल प्रमुख प्रशिक्षक अरुणा गुरुङले गर्नेछिन् । उद्घाटन समारोहपछि पहिलो खेल सुरु हुनेछ ।
संयोजक वैश्यले उक्त च्याम्पियनसिप केवल प्रतिस्पर्धा नभई विद्यालयबीच आपसी सद्भाव, खेलमैत्री सम्बन्ध र विद्यार्थीहरूमा रहेको ऊर्जा तथा टिमवर्कलाई उत्सवका रूपमा मनाउने अवसर भएको बताए ।
प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा आरजेएम मोटर्स रहेको छ भने अस्मिता पब्लिकेसन, एसिया पब्लिकेसन, र विष्णु देवी कपी उद्योग सह–प्रायोजकका रूपमा रहेका छन् । त्यस्तै आरजे स्पोर्ट्स, रिड एण्ड रिटर्न, र सुभेक्षा इन्टरनेसनल हस्पिटलले पनि सहयोग प्रदान गर्नेछन् ।





