
काठमाडौं । फास्ट बलर हिक्मत महरा नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ बनेका छन् । धनगढीस्थित धनगढी क्रिकेट एकेडेमीमा आइतबार र सोमबार सम्पन्न ‘ट्यालेन्ट हन्ट’ मार्फत हिक्मत उत्कृष्ट प्रदर्शन गर्दै सो उपाधि जित्न सफल भएका हुन् ।

सुदूरपश्चिम रोयल्सले आयोजना गरेको उक्त ट्यालेन्ट हन्टमा झन्डै ३०० खेलाडी सहभागी भएका थिए । मुख्य प्रशिक्षक जगत टमटाको नेतृत्वमा रहेको टोलीले दुई चरणको छनोट प्रक्रिया सम्पन्न गरेको थियो ।
हिक्मतले १३१ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्दै पहिलो स्थान हासिल गरे भने अभिषेक कोइरालाले १२५ किलोमिटरको स्पिडमा बलिङ गर्दै दोस्रो स्थान पाए ।
हिक्मत अब सुदूरपश्चिम रोयल्सको मुख्य टोलीबाट आगामी एनपीएल प्रतियोगितामा खेल्नेछन् । साथै, पाँच जना खेलाडीलाई डेभलपमेन्ट टोलीमा समेत छनोट गरिएको छ । उनीहरूमा ओमप्रकाश घिमिरे, सोलुप चौधरी, टेकराज थलाल, तर्भिस जैशी र अभिषेक कोइराला रहेका छन् ।
सुदूरपश्चिम रोयल्सको मुख्य टोली
दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन।
मुख्य प्रशिक्षक: जगत टमटा





