
काठमाडौं । प्रदर्शनका क्रममा सरकारी सम्पत्तिमा तोडफोड र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा दुई जनामाथि मुद्दा दर्ता गरिएको छ।
काठमाडौं जिल्ला प्रहरी परिसरले दिएको जानकारी अनुसार शुक्रबार प्रदर्शनका क्रममा प्रहरी वृत्त बानेश्वरको भवन तथा सवारी साधनमा तोडफोड, आगजनी, हातहतियार लुटपाट र सुरक्षामा खटिएका प्रहरीमाथि दुर्व्यवहार गर्ने व्यक्तिहरूविरुद्ध अनुसन्धानका लागि मुद्दा दर्ता गरिएको हो।
सिराहा नगरपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–३२ आलोकनगर बस्ने २३ वर्षीय सुमित श्रेष्ठ र काठमाडौं महानगरपालिका–१३ स्थित चिलिमेका २२ वर्षीय सुदिप लिम्बूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
दुवै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक (प्र.उ.) पवनकुमार भट्टाईले जानकारी दिनुभयो।





