
काठमाडौं । नेपाली अल्ट्रा रनर सुमन कुलुङले नोभेम्बर १४ देखि १६ तारिखसम्म हङकङमा आयोजना हुने ट्रान्सलानटाउ रेसमा प्रतिस्पर्धा गर्ने भएका छन्। उनी सोमबार राति नै हङकङ प्रस्थान गरेका छन्। सुमनले सो प्रतियोगितामा ८० किलोमिटर दूरीमा दौडिनेछन्।
हालै स्पेनमा सम्पन्न वर्ल्ड ट्रेल एन्ड माउन्टेन च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका सुमन एसियाली धावकहरूभित्र उल्लेखनीय प्रदर्शन गर्न सफल भएका थिए। नेपाल एड्भेन्चर रनिङ फेडेरेसनका अध्यक्ष एकेन्द्र कुँवरले सुमनले अन्तर्राष्ट्रिय ट्रेल रेसहरूमा निरन्तर राम्रो प्रदर्शन गरिरहेको र हङकङमा पनि उत्कृष्ट परिणाम ल्याउने विश्वास व्यक्त गरे।
सुमनले विश्वस्तरीय प्रतियोगितामा भाग लिएर धेरै अनुभव प्राप्त गरेको बताउँदै हङकङमा पनि उत्कृष्ट प्रदर्शन गर्ने आत्मविश्वास प्रकट गरे। उनलाई अष्ट्रियाको सिग्रिड फाउन्डेसनले स्पोन्सर गरेको हो।
फाउन्डेसनका पदाधिकारीसँग सन् २०२२ मा भेट भएपछि सुमन निरन्तर सम्पर्कमा रहेका र फाउन्डेसनले उनको मेडिकल परीक्षणपछि विश्वका शीर्ष धावकहरूमध्ये पर्न सक्ने सम्भावना देखिएको भन्दै सहयोग गरेको जनाएको छ।
हाल सुमन अष्ट्रियामा ट्रेल रनिङ अभ्याससँगै काम पनि गर्दै आएका छन्। उनी त्यहाँ स्की लगायतका खेलहरूमा समेत संलग्न छन्। सुमनसँगै फाउन्डेसनकी संस्थापक डा. सिग्रिड स्वार्जेनबाकर र पेट्रा नोकर पनि हङकङ प्रस्थान गर्ने भएका छन्।





