
काठमाडौं । समर डेफलिम्पिक्समा सहभागी हुन नेपाली जुडो टोली मंगलबार जापानको टोकियो प्रस्थान गर्ने भएको छ। नोभेम्बर १५ देखि २६ तारिखसम्म हुने प्रतियोगिताको जुडो स्पर्धामा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।

पुरुष ६० केजीतर्फ लक्की चौधरी र महिला ५२ केजीतर्फ सुष्मा तामाङले नेपालको प्रतिनिधित्व गर्नेछन्। जुडो खेल नोभेम्बर १६ देखि सुरु हुनेछ। टोलीमा नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघका अध्यक्ष धर्मकुमार श्रेष्ठ टोली प्रमुख, रोजिना श्रेष्ठ व्यवस्थापक र सन्जित डंगोल प्रशिक्षकका रूपमा रहेका छन्।
घरायसी शोकका कारण प्रशिक्षक डंगोल नोभेम्बर १४ मा जापान जाने भएका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले सोमबार एक कार्यक्रमबीच टोलीलाई बिदाइ गरे। सो अवसरमा राखेपका सदस्य भानबहादुर चन्द, सुवर्ण श्रेष्ठ, जगतसिंह धामीलगायतको उपस्थिति रहेको थियो।
डेफलिम्पिक्समा नेपालले जुडोसँगै कराते, एथलेटिक्स, तेक्वान्दो, ब्याडमिन्टन र टेबल टेनिसमा पनि सहभागिता जनाउनेछ।





