
काठमाडौं । टिम अफ प्रोग्रेसिभ स्कुल (टोप्स) को आयोजनामा नवौं टोप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ। ह्वाइट हेभन एकेडेमीका प्रिन्सिपल तथा टोप्स अध्यक्ष भरतमणि पोखरेलले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिएका हुन्।
उनका अनुसार प्रतियोगितामा टोप्समा आबद्ध १४ विद्यालयका २२ टिमको सहभागिता रहनेछ। तार्केश्वर नगरपालिका–१ साङलास्थित ल्यान्डमार्क एकेडेमीको संयोजनमा आयोजना हुने प्रतियोगितामा ब्वाइजतर्फ १४ र गल्र्सतर्फ ८ टिमले प्रतिस्पर्धा गर्नेछन्।
ब्वाइज टिमलाई ४ र गल्र्स टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट प्रणालीमा खेल सञ्चालन गरिनेछ। ब्वाइजमा समूह विजेता तथा उपविजेता क्वाटरफाइनलमा पुग्नेछन् भने गल्र्समा विजेता र उपविजेता सोझै सेमिफाइनलमा प्रवेश गर्नेछन्।
ल्यान्डमार्ककी प्रिन्सिपल सुष्मा श्रेष्ठका अनुसार प्रतियोगिता सञ्चालनमा करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान छ। तीन दिनसम्म सञ्चालन हुने खेलहरु ल्यान्डमार्कमै हुनेछन्। गत संस्करणमा ब्वाइजमा तेजस्वी एकेडेमी र गल्र्समा बेलमोन्ट स्कुल विजेता बनेका थिए।
टोप्सका ईसीए विभाग प्रमुख तथा तेजस्वी एकेडेमीका प्रिन्सिपल थिरबहादुर बस्नेतले बास्केटबलपछि फुटसल प्रतियोगिता आयोजना गर्ने योजना रहेको जानकारी दिए।





