
काठमाडौं । इन्टेरियर डिजाइन र क्रिएटिभ सोचलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजित पाँचौं संस्करणको ‘आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो’ काठमाडौंको सिटी सेन्टर, कमलपोखरीमा सम्पन्न भएको छ।

एक्स्पोको उद्घाटन मिस नेपाल वर्ल्ड २०२५ लुना लुइँटेल, मिस इन्टरनेशनल २०२५ उरुषा भण्डारी, आईआईएफटीका प्रबन्ध निर्देशक फूपु तेञ्जिङ शेर्पा, व्यवसायी उज्ज्वलजङ्ग शाह, र फोटोग्राफर शिवलाल श्रेष्ठलगायतका व्यक्तित्वले संयुक्त रूपमा रिबन काटी गरेका थिए।

दुई दिने यो प्रतिस्पर्धात्मक एक्स्पोमा आईआईएफटी स्कुल अफ फेशन एण्ड इन्टेरियर डिजाइन का विद्यार्थीहरूले आफ्ना सृजनात्मक प्रोजेक्टहरू प्रदर्शन गरेका थिए। प्रबन्ध निर्देशक फूपु तेन्जिङ शेर्पाका अनुसार, विद्यार्थीहरूको दक्षता प्रदर्शन र नेपालमा इन्टेरियर डिजाइन क्षेत्रको सम्भावनालाई उजागर गर्न एक्स्पो आयोजना गरिएको हो।

एक्स्पोमा विद्यार्थीहरूले क्याफे, रेष्टुराँ, कार शोरूम, बैंक, नेवारी क्याफे, प्रि–स्कुल र स्पा डिजाइनजस्ता विभिन्न प्रोजेक्टहरू प्रस्तुत गरेका थिए। थेसिस तर्फ १७ जना र क्याफे डिजाइन तर्फ ३९ जना विद्यार्थी सहभागी भएका थिए। सहभागी विद्यार्थीहरूले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि इन्टेरियर डिजाइनको उज्ज्वल भविष्य रहेको विश्वास व्यक्त गरे।
दोस्रो दिन सम्पन्न ग्राजुएशन तथा पुरस्कार वितरण समारोहमा काठमाडौँ महानगरपालिकाकी उप–मेयर सुनिता डंगोल प्रमुख अतिथि रहनुभएको थियो। उहाँले ग्राजुएट विद्यार्थीहरूलाई Certificate of Accomplishment प्रदान गर्नुभएको थियो।
कार्यक्रममा क्याफे डिजाइन तर्फ उज्ज्वल शाही, सगुन पौडेल, दिपेश माली, र अर्जुन तामाङ क्रमशः प्रथम, द्वितीय, तृतीय र पब्लिक चोइस अवार्डका विजेता बनेका थिए।
थेसिस डिजाइनतर्फ उज्ज्वल शाही, प्राची ठाकुर, बालकृष्ण बस्याल, र मोहनी महर्जन क्रमशः प्रथम, द्वितीय, तृतीय र पब्लिक चोइस अवार्ड विजेता घोषित भए।
विशेष अतिथिहरूमा लामिनार टाइल्सका प्रबन्ध निर्देशक अशुतोष खेतान, व्यवसायी अनिल थामन, उज्ज्वल कृष्ण श्रेष्ठ, र वरिष्ठ गायक लाक्पा शेर्पाको उपस्थिति थियो।
अशुतोष खेतानले विजयी विद्यार्थीहरूलाई नगद पुरस्कार समेत प्रदान गर्नुभएको थियो।
कार्यक्रम शेर्पा ग्रुपको मुख्य प्रयोजनमा र बर्जर पेन्ट्स तथा लामिनार टाइल्सको सह–प्रायोजनमा सम्पन्न भएको थियो।





