
काठमाडौँ । देशभरका लाखौँ घरमा आफ्नो विश्वसनीय इन्टरनेट सेवा पुर्याउँदै आएको भायानेट अब खेलकुद क्षेत्रमा पनि सक्रिय देखिन थालेको छ। कम्पनी नेपाल प्रिमियर लिग (NPL) मा सहभागी टोली चितवन राइनोज को आधिकारिक कनेक्टिभिटी पार्टनर बनेको छ।
शुक्रबार आयोजित एक कार्यक्रमका अवसरमा भायानेटका कमर्शियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठ र चितवन राइनोजका प्रमुख सञ्चालन अधिकृत डा. आशिष खड्काबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
नेपालकै सबैभन्दा ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता मानिने नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आगामी मंसिर १ देखि मंसिर २७ (नोभेम्बर १७–डिसेम्बर १३, २०२५) सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछ। राष्ट्रिय खेलाडी कुशल मल्ल चितवन राइनोजका मार्की खेलाडीका रूपमा सहभागी हुनेछन्।
भायानेटका उपाध्यक्ष श्रेष्ठले खेलकुदमा कम्पनीको निरन्तर संलग्नता समाज र युवापुस्ताप्रतिको जिम्मेवारीको प्रतीक भएको बताए। उनका अनुसार, “हामी खेलकुदसँग सुरुदेखि नै जोडिएका छौं। खेलमा हाम्रो लगानी व्यवसायिक भन्दा बढी जिम्मेवारीको कुरा हो। खेलकुद र इन्टरनेट दुबैले मानिसहरूलाई जोड्ने साझा माध्यम हुन्।”
भायानेटले स्थापना समयदेखि नै खेलकुदलाई आफ्नो सामाजिक उत्तरदायित्वको प्रमुख क्षेत्र बनाउँदै आएको छ। यसअघि कम्पनीले फागुनमा सम्पन्न अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप र भदौमा सम्पन्न कर्पोरेट क्रिकेट लिग दुबैको टाइटल स्पोन्सर बनेको थियो। साथै, चर्चित फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ लाई ब्रान्ड एम्बेसडर घोषणा गर्दै ‘साम्बा प्याक’ पनि सार्वजनिक गरेको थियो।
चितवन राइनोजसँगको यो सहकार्यमार्फत भायानेटले खेलाडीको मनोबल वृद्धि गर्न, दर्शकको भावना सँगाल्न र देशभरका खेलप्रेमीहरूलाई एकै ठाउँमा जोड्ने सेतुको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।





