
बागलुङ । पाँच वर्षअघि ठेक्का सम्झौता भएको काठेखोला गाउँपालिका–७ रेश जाने चार किलोमिटर सडक अखेर कालोपत्र गर्न थालिएको छ । निर्माण व्यवसायीको लापरबाही र निरन्तर म्याद थपिँदै आएको कारण वर्षौँदेखि अधुरो रहेको सडकको काम अहिले पुनः गति लिएको हो ।
कोरोना महामारी, आर्थिक संकट र भुक्तानीको समस्या देखाउँदै निर्माण कम्पनीले पटक–पटक काम स्थगित गरेको थियो । तर हाल धमाधम ग्राभेल कार्यसँगै कालोपत्रका तयारी सुरु भएको काठेखोला गाउँपालिकाका इन्जिनियर विनोद लामिछानेले जानकारी दिए ।
संघीय सरकार र गाउँपालिकाको साझेदारीमा सुरु गरिएको उक्त सडक परियोजनाको ठेक्का २०७७ जेठमा जोशी/निशान/आचार्य जेभीले रु ६ करोड ७१ लाखमा लिएको थियो । दुई वर्षमा सम्पन्न गर्ने सम्झौता भए पनि काम समयमै नहुँदा म्याद छ पटकसम्म थपिएको हो ।
लामिछानेका अनुसार, अब अन्तिम पटक (१४औँ खरिद संशोधनअन्तर्गत) म्याद थपिएको छ र आवश्यक उपकरण तथा कच्चा सामग्री साइटमा पुगेका छन् । अहिले सडकका बिग्रिएका पूर्वाधार पुनर्निर्माण हुँदै छन् ।
निर्माण व्यवसायी प्रकाश आचार्यले कोरोना संकट, भुक्तानी ढिलाइ र सामग्री अभावका कारण काम अघि बढ्न नसकेको बताउँदै यस पटक भने निर्धारित समयमै कालोपत्र सम्पन्न गरी सडक हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् ।
उक्त सडक बरेङ–शान्तिपुरका स्थानीयवासी तथा यात्रुका लागि पनि मुख्य आवागमन मार्गका रूपमा प्रयोग हुँदै आएको छ । हालसम्म सडकको ७० प्रतिशत भौतिक र ६५ प्रतिशत आर्थिक प्रगति भएको जनाइएको छ ।





