
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित प्रसिद्ध धार्मिकस्थल इच्छाकामना मन्दिर परिसरमा पर्यटन प्रवर्द्धनका उद्देश्यले दुई दिने पञ्चमी मेला आयोजना हुने भएको छ ।
मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराका अनुसार मेलाको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूले विविध विधाका प्रस्तुति दिने तयारी भएको पनि उनले बताए ।
प्रत्येक वर्ष पञ्चमीका दिन यहाँ रातभर मेला लाग्ने परम्परा रहिआएको छ । बिहान पूजाआजा र बलि चढाउने धार्मिक संस्कार सम्पन्न गरिन्छ । इच्छाकामना गाउँपालिकाले केही वर्षदेखि सो अवसरमा स्थानीय बिदा दिँदै मेलालाई भव्य रूपमा मनाउँदै आएको छ ।
गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध मनकामना मन्दिरको उत्तरमा अवस्थित इच्छाकामना मन्दिर मनकामना देवीका सात दिदीबहिनीमध्ये एक बहिनी रहेको किंवदन्ती छ । यहाँ पूजा गरे इच्छा पूरा हुने र सन्तान नहुने दम्पतीलाई सन्तान प्राप्ति हुने धार्मिक विश्वास रहँदै आएको छ ।
समुद्री सतहदेखि करिब एक हजार ८०० मिटर उचाइमा रहेको मन्दिर जङ्गलले घेरिएको आकर्षक स्थल हो । फागुन र चैत महिनामा ढकमक्क फुलेका लालीगुराँसले वरिपरिको वातावरणलाई रङ्गिन बनाउँछ । इच्छाकामनाबाट सफा मौसममा मनास्लु, गणेश र माछापुच्छ्रे हिमालको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।
मन्दिर पुनर्निर्माणसँगै खानेपानी, विद्युत् तथा अन्य भौतिक पूर्वाधार निर्माण भएपछि यहाँ धार्मिक पर्यटकको आवागमन उल्लेख्य रूपमा बढेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए । उनका अनुसार पछिल्ला वर्षहरूमा भारतीय पर्यटक पनि दर्शनका लागि आउने गरेका छन् । फिस्लिङ–शक्तिखोर तथा मुग्लिन–तामिन सडकमार्ग हुँदै मन्दिर पुग्न सकिन्छ । सार्वजनिक बिदा र शनिबारका दिन यहाँ दर्शन तथा वनभोजका लागि आउने भक्तजन र पर्यटकहरूको भीड लाग्ने गर्छ ।





