अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो



ताप्लेजुङ, कात्तिक २४ गते ।
पूर्वी पहाडी क्षेत्रको प्रमुख नगदे बाली अलैँचीको मूल्य हालसालै तीव्र रूपमा बढेको छ । ताप्लेजुङमा अलैँचीको प्रतिमन (४० किलो) मूल्य रु एक लाख नाघेको छ ।

अलैँची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीका अनुसार आज गुणस्तरीय अलैँची प्रतिमन रु एक लाख दुई हजारमा कारोबार भएको छ । शनिबारसम्म प्रतिमन रु ९६ हजारमा रहेको मूल्य आइतबार अपराह्नमा रु ९८ हजार पुगेको थियो भने आज फेरि रु चार हजारले वृद्धि भई रु एक लाख दुई हजार पुगेको हो ।

उनका अनुसार असोज दोस्रो सातासम्म प्रतिमन रु ८५ हजारमा स्थिर रहेको अलैँचीको मूल्य एक महिनाको अवधिमा रु १५ देखि १७ हजारसम्म बढेको छ । नयाँ उत्पादन सुरु हुँदा प्रतिमन रु ८० हजारमा कारोबार सुरु भएको भए पनि यस वर्ष अलैँचीको मूल्य अपेक्षाकृत उच्च दरमा वृद्धि भएको व्यवसायीहरूले बताएका छन् ।

नेपालमा उत्पादन भएको अलैँची मुख्यतः भारतीय बजार हुँदै तेस्रो मुलुकमा निर्यात हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्