विद्यार्थीका लागि नेपाल टेलिकमको ‘NT Fiber विद्यार्थी अफर’ सार्वजनिक



काठमाडौं । नेपाल टेलिकमले देशभरका विद्यार्थीहरूलाई लक्षित गर्दै उच्च गुणस्तरीय र किफायती इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले ‘NT Fiber विद्यार्थी अफर’ सञ्चालनमा ल्याएको छ।

आज (कार्तिक २३ गते) नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले अफरको औपचारिक शुभारम्भ गर्नुभयो।

कार्यक्रममा मन्त्री खरेलले आर्थिक रूपमा सक्षम नभएका विद्यार्थीहरूलाई सूचना प्रविधिमा पहुँच दिलाउन नेपाल टेलिकमले ल्याएको यो सहुलियतपूर्ण अफर प्रशंसनीय भएको बताउनुभयो। उहाँले फाइबर सेवाको विस्तार र ग्राहक वृद्धि गर्नका लागि प्रभावकारी बजार रणनीति अपनाउन निर्देशनसमेत दिनुभयो।

सञ्चार तथा सूचना प्रविधि सचिव तथा कम्पनी सञ्चालक समितिकी अध्यक्ष राधिका अर्यालले टेलिकम नाफाभन्दा बढी सेवामुखी संस्था भएकाले राष्ट्रको सञ्चार सुदृढीकरणका साथै राजस्व अभिवृद्धि र आम्दानीका नयाँ सम्भावना पहिचानमा पनि ध्यान दिनुपर्ने बताउनुभयो।

यस अफर अन्तर्गत २०८२ माघ २२ गतेसम्म विद्यार्थीहरूले करसहित रु. ४ हजार ९९९ मा ३० एमबीपीएस गतिको इन्टरनेट सेवा एक वर्षका लागि प्राप्त गर्न सक्नेछन्। जडानका लागि रु. ५०० थप लाग्नेछ। अफरमा सहभागी विद्यार्थीले १ थान Dual Band CPE र बढीमा १०० मिटर ड्रप फाइबर निःशुल्क प्राप्त गर्ने सुविधा पाउनेछन्।

विद्यार्थीहरूले यो अफर लिन १९८ मा सम्पर्क गर्न वा Demand Portal मार्फत वा नजिकको नेपाल टेलिकम कार्यालयमा उपस्थित भई आवेदन दिन सक्नेछन्।

अफरको अवधि सकिएपछि उक्त प्याकेज पुनः नवीकरण गर्न नसकिने भएकाले सेवा निरन्तरता चाहनेहरूले टेलिकमका अन्य उपलब्ध प्याकेजहरू मध्ये आफूलाई उपयुक्त योजना छनोट गर्नुपर्नेछ। यदि सेवा नवीकरण नगरी बन्द गर्ने निर्णय भएमा शुरूमै प्राप्त गरिएको CPE फिर्ता गर्नुपर्नेछ।

अफरका लागि आवेदन फारमसँगै निम्न कागजातहरू अनिवार्य रूपमा पेश गर्नुपर्नेछः

  • मान्य विद्यार्थी परिचयपत्र (Student ID Card)
  • स्पष्ट जन्ममिति खुल्ने नागरिकता वा जन्म प्रमाणपत्र
  • नाबालिगको हकमा अभिभावकको नागरिकता, लाइसेन्स वा पासपोर्टको प्रतिलिपि

अफर र जडानसम्बन्धी थप जानकारीका लागि ग्राहकहरूले नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर्न वा सेवा केन्द्रको सम्पर्क नम्बर १९८ मा कल गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्