
मोरङ । बालबालिकाको स्वास्थ्य र मानसिक विकासलाई लक्षित गर्दै विराटनगरमा पहिलोपटक ‘स्वर्णबिन्दु प्राशन कार्यक्रम’ सुरु गर्न लागिएको छ । कार्यक्रमलाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग आज विराटनगरमा अभिमुखिकरण गरिएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङका प्रमुख डा. राम प्रवोध चौधरीका अनुसार आगामी कात्तिक २५ गतेदेखि सुरु हुने यो कार्यक्रमअन्तर्गत विराटनगर महानगरपालिकाका १९ वटै वडाका एकदेखि पाँच वर्ष उमेर समूहका करिब एक हजार बालबालिकालाई स्वर्णबिन्दु प्राशन खुवाइनेछ ।
डा. चौधरीका अनुसार स्वर्णबिन्दु प्राशन सुनको भष्म, आयुर्वेदिक औषधि मिसाइएको घिउ र महको मिश्रणबाट तयार गरिन्छ । यो औषधि प्रत्येक महिनाको पुष्य नक्षत्रको दिनमा बालबालिकालाई खुवाइने प्रचलन छ । यसले बालबालिकाको स्मरण शक्ति, वाणी, पाचन शक्ति, शारीरिक बल र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने विश्वास गरिएको छ ।
कविराज निरीक्षक डा. वैजनाथ साहका अनुसार यो परम्परागत आयुर्वेदिक औषधि “स्वर्ण प्राशन” वा “सूवर्ण प्राशन” नामले पनि परिचित छ । उमेरअनुसार बालबालिकालाई दुईदेखि पाँच थोपा दिइन्छ भने यसमा प्रयोग हुने ब्राह्मी जडिबुटीले मानसिक विकासमा सकारात्मक प्रभाव पार्ने बताइएको छ ।
कार्यक्रममा सहभागी महिला स्वास्थ्य स्वयंसेविकालाई आफ्ना वडाका सबै बालबालिकाको अभिलेख तयार गरी अनिवार्य रूपमा स्वर्णबिन्दु प्राशन खुवाउन आग्रह गरिएको थियो । कार्यक्रममा डा. चौधरी, डा. साह, मिसन ढकाल र धनञ्जय जयसवाललगायतको उपस्थिति रहेको थियो ।





