हिमपातपछि मुस्ताङका याक चौँरी बेँसीमा झारिँदै



मुस्ताङ । पछिल्लो भारी हिमपात र तीव्र चिसो बढेसँगै मुस्ताङका उच्च हिमाली लेकमा पालिएका याक चौँरीलाई बेँसीतर्फ सारिएको छ । साताअघि परेको हिमपातले चरन क्षेत्र हिउँले ढाकिएर घाँस र पानीको अभाव भएपछि गोठालाहरूले चौँरीहरूलाई जाडो र हिमपातबाट जोगाउन न्यानो बेँसीमा झारेका हुन् ।

हिमालयन चौरीपालक तथा संरक्षण समितिका सचिव सोजन हिराचनका अनुसार मुस्ताङका पाँच स्थानीय तहका उच्च लेकमा रहेका चौँरी हरेक वर्ष जस्तै यस वर्ष पनि हिउँदयाममा बेँसीमा झारिएका हुन् । उनले भने, “कात्तिकदेखि जेठसम्म चौँरी बेँसीमा झारिन्छन् र गर्मी सुरु भएपछि वैशाखदेखि असोजसम्म पुनः उच्च लेकमा लगिन्छ।”

हिउँदमा उच्च लेकमा चरन क्षेत्र हिउँले ढाकिँदा घाँस, पानी र आहारा अभाव हुने र गोठालालाई पनि चिसो र हिमपातले सास्ती दिने भएकाले चौँरीहरूलाई क्रमशः तल्लो बेँसीमा सार्ने परम्परा रहेको उनले बताए । बर्खायाममा हिउँ पग्लिएर घाँस पलाउन थालेपछि पुनः चौँरीहरूलाई ४ हजार मिटरमाथिका लेकमा लैजाने गरिन्छ ।

थासाङ गाउँपालिका–२ मार्चे लेकका १० घरपरिवारका १० गोठमा रहेका झण्डै एक हजार चौँरी, मुलीखर्कका आठ घरपरिवारका पाँच सय चौँरी र बतासे लेकका छ घरपरिवारका करिब सात सय चौँरी अहिले बेँसी झारिएको समितिका सचिव हिराचनले जानकारी दिए ।

थासाङ–२ का वडाध्यक्ष गौतम शेरचनका अनुसार मार्चे लेक, मुलीखर्क र बतासे लेकमा क्रमशः १०, ८ र ६ गोठ रहेका छन् । उनले थपे, “मार्चे लेकमा गाउँपालिका र भेटेरिनरी सेवा केन्द्रको सहयोगमा घम्ती गोठ निर्माण गरिएको छ ।” उनका अनुसार कोवाङ, सौरु, खन्ती, लार्जुङ, नाउरिकोट, नाकुम, बोक्सी खोला, छाक्ताङ र ताक्लुङका पशुपालकहरूले परम्परागत चौँरीपालन गर्दै आएका छन् ।

घरपझोङ–४ जोमसोमका याक चौँरीपालक भूपेन्द्र शेरचन र वीरबहादुर घर्तीका करिब पाँच सय चौँरी पनि ठिनी गाउँमाथिको लेकबाट तलको पारिलो स्थानमा झारिएका छन् । भूपेन्द्रका अनुसार हिउँदयाममा घाँस र पानीको समस्या हुने भएकाले चौँरी बेँसी झार्नुपरेको हो । घरपझोङ गाउँपालिकास्थित स्याङ, मार्फा र जोमसोमका सात घरपरिवारले याक चौँरीपालन गर्दै आएका छन् ।

माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ ताङ्ग्या र वडा–४ ध्येगाउँका दुई घरपरिवारले करिब पाँच वटा चौँरीपालन गर्दै आएका छन् । ताङ्ग्याका कर्मा साङ्वो गुरुङका अनुसार बर्खायाममा कराङ क्षेत्रमा रहेका चौँरी अहिले हिमपातपछि थाक्से लेकको पारिलो स्थानमा झारिएका छन् । त्यस्तै, ध्येका चौँरीपालक कुन्साङ रिनजिन गुरुङले पनि आफ्ना चौँरी बेँसी नजिकका लेकमा ल्याएर राखेका छन् ।

लोमान्थाङ गाउँपालिकाका लोमान्थाङ र सम्जुङमा पनि चौँरीपालन चलिरहेको छ । तर, पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण यो परम्परागत व्यवसाय संकटमा पर्न थालेको चौँरीपालकहरूले बताउँछन् । अनियमित हिमपात, घाँसको अभाव र हिमचितुवालगायत वन्यजन्तुको आक्रमण बढ्दै जाँदा चौँरीपालन कठिन बन्दै गएको छ ।

मुस्ताङका किसानहरूले चौँरीको दूधबाट दही, घिउ, छुर्पी बनाउने गर्छन् । चौँरीको पुच्छर धार्मिक प्रयोजनका लागि प्रयोग हुने भएकाले महँगो मूल्यमा बिक्री हुन्छ । त्यस्तै, यहाँका चौँरीपालकहरूले वैशाख र भदौमा चौँरीको रगत निकालेर औषधीय तथा आर्थिक उपयोग गर्छन् । वयस्क चौँरीको मूल्य रु एक लाखदेखि डेढ लाखसम्म पर्ने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्