
गोरखा । सिरानचोक गाउँपालिका–४ चोरकाटेस्थित घुम्तीमोडमा भएको माइक्रोबस दुर्घटनामा चालकसहित १७ जना घाइते भएका छन् ।
भच्चेकबाट आबुखैरेनीतर्फ जाँदै गरेको बा ४ ख ६०४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकको दाहिनेपट्टिको भित्तामा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा परी आठ वर्षीया स्वरिनल चौधरी, ४३ वर्षीया लक्ष्मी चौधरी र ३६ वर्षीया पवित्रा महतो गम्भीर घाइते भएका छन् । जानकारी पाएलगत्तै प्रहरी टोलीले घटनास्थल पुगेर घाइते यात्रुहरूको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनाग्रस्त सवारीमा १९ जना यात्रु सवार थिए, जसमा अधिकांश चितवनको खैरेनी नगरपालिका निवासी रहेका छन् ।





