पथरी शनिश्चरे गोल्डकपको उपाधि सलहेस सिरहालाई



मोरङ । ‘अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२’ को उपाधि सिरहाको सलहेस युवा क्लब ले जितेको छ । शनिबार भएको रोमाञ्चक फाइनल खेलमा आयोजक पथरी–११ लाई २–१ गोल अन्तरले पराजित गर्दै सलहेसले विजेताको ट्रफी उचालेको हो ।

खेलको सुरुवाती अग्रता भने आयोजक पथरी–११ ले लिएको थियो । खेलको १९औँ मिनेटमा धिरेन क्षेत्रीले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । सलहेसका विदेशी खेलाडी करिम ओमोलोजाले पथरी–११ का निरज परियारलाई डी–बक्सभित्र फल गरेपछि पथरीलाई पेनाल्टीको अवसर प्राप्त भएको थियो ।

तर, पहिलो हाफमा एक गोलले पछि परेको सलहेसले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्‍यो । खेलको ५८औँ मिनेटमा जय गुरुङ ले गोल गर्दै खेल बराबरीमा ल्याए भने ६९औँ मिनेटमा समीर तामाङ ले निर्णायक गोल गर्दै टोलीलाई उपाधि दिलाए । यो सिजनमा सलहेस युवा क्लबको यो चौथो उपाधि हो ।

प्रतियोगितामा पथरी–११ का युकेस तामाङ सर्वोकृष्ट खेलाडी घोषित भई रु २५ हजार पुरस्कार पाए । सलहेसका जय गुरुङ ‘म्यान अफ द म्याच’ घोषित भई रु ५ हजार प्राप्त गरे ।

अन्य विधागत पुरस्कारहरूमा सलहेसका रेवट चौधरी उत्कृष्ट गोलरक्षक, रिजड वइसन सर्वाधिक गोलकर्ता र राजीव यादव उत्कृष्ट प्रशिक्षक घोषित भई प्रत्येकले रु १०–१० हजार पाए । पथरी–११ तर्फबाट समीर क्षेत्री उदीयमान खेलाडी, सञ्जय लिम्बू उत्कृष्ट मिडफिल्डर र धिरेन क्षेत्री उत्कृष्ट डिफेन्डर घोषित हुँदै प्रत्येकले रु १०–१० हजार प्राप्त गरे ।

विजेता सलहेस युवा क्लब सिरहाले रु ५ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेता पथरी–११ ले रु २ लाख ५० हजार पायो ।

पुरस्कार वितरण शनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्वापो, एन्फा केन्द्रीय सदस्य दीपेन्द्र धिमाल, मोरङ जिल्ला फुटबल सङ्घका अध्यक्ष सञ्जीव बुढाथोकीलगायतको उपस्थितिमा सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्