क्लाउड फ्याक्ट्रीलाई सीई कर्पोरेट क्रिकेटको उपाधि



काठमाडौं । तेस्रो संस्करणको सीई कर्पोरेट टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि क्लाउड फ्याक्ट्रीले हात पारेको छ।

शनिबार राति बुढानिलकण्ठ–चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा सम्पन्न फाइनलमा क्लाउड फ्याक्ट्रीले राष्ट्रिय वाणिज्य बैंकलाई ५ विकेटले पराजित गर्दै विजेता बन्न सफल भयो।

विजयी क्लाउड फ्याक्ट्रीले ७३ रनको लक्ष्य ९.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। टिमका लागि ओपनर जुलेन महर्जनले सर्वाधिक २७ रन जोडे भने सुबोध ढुंगेलले १५, चन्द्रकुमार राईले अविजित ११ र सबिन डीसीले अविजित ५ रन बनाए।

यसअघि टस हारेर ब्याटिङ गरेको राष्ट्रिय वाणिज्य बैंकले १० ओभरमा २ विकेट गुमाउँदै ७२ रन जोडेको थियो। बैंकका ओपनर बिबेक श्रेष्ठले ३१ रन र कप्तान सुशील देवकोटाले अविजित २८ रनको योगदान दिए।

विजेता क्लाउड फ्याक्ट्रीले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो भने उप–विजेता राष्ट्रिय वाणिज्य बैंकले ५० हजार ५ सय रुपैयाँमा सीमित रह्यो।

प्रतियोगिताको उत्कृष्ट खेलाडी क्लाउड फ्याक्ट्रीका सुबोध ढुंगेल घोषित भए, जसले १० हजार रुपैयाँ पाए। उत्कृष्ट ब्याटर सलिकोका स्पन्दन न्यौपाने, उत्कृष्ट बलर सिद्धार्थ बैंकका सञ्जीव मदैया, र उत्कृष्ट विकेटकिपर सिद्धार्थ बैंककै ब्रिज नन्दन तिवारी बने — सबैले ५ हजार रुपैयाँ पुरस्कार पाए।

त्यस्तै, मस्ट चियर्ड टिमको अवार्ड एनएलजी इन्स्योरेन्स, फेयर प्ले टिमको अवार्ड हिमालयन एभरेष्ट इन्स्योरेन्स र इनर्जेटिक टिमको अवार्ड सानिमा जीआईसी इन्स्योरेन्सले पाएका छन्।

सीई कन्स्ट्रक्सनको आयोजनामा र चित्रा स्पोर्ट्सको सहकार्यमा दुईदिनसम्म चलेको प्रतियोगितामा १२ वटा कर्पोरेट टिम सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस्