
नेपालगन्ज ।
धारा नेपालगन्ज म्याराथनले मलेसियाको प्रतिष्ठित स्कोर म्याराथनसँग सहकार्य गर्ने भएको छ। मलेसिया र सिङ्गापुरमा रनिङ इभेन्ट सञ्चालन गर्दै आएको स्कोर स्पोर्ट्स म्यानेजमेन्ट र धारा नेपालगन्ज म्याराथनबीच आपसी सहयोग, सांस्कृतिक आदानप्रदान र खेलकुद क्षेत्रको विशेषज्ञता साटासाट गर्ने सम्झौता भएको छ।
धारा नेपालगन्ज म्याराथनका रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङका अनुसार, सम्झौता पाँच वर्षका लागि गरिएको छ र आवश्यक परिमार्जनसहित यसलाई थप्ने सहमति पनि भएको छ। सम्झौता पत्रमा स्कोर स्पोर्ट्स म्यानेजमेन्टका संस्थापक एवं सिईओ प्याट्रेसिया टेन र धारा नेपालगन्ज म्याराथनका संस्थापक तथा अध्यक्ष टी.एस. ठकुरीले हस्ताक्षर गरेका हुन्।

अध्यक्ष ठकुरी, जो विश्व दौडको साझा संस्था एएसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (AIMS) का नेपाल प्रतिनिधि पनि हुन्,ले भने,
“मलेसियाको शीर्ष तीन म्याराथनमध्ये एक, वर्ल्ड–क्लास रोड रेस लेवल मान्यताप्राप्त स्कोर म्याराथनमा ४० हजारभन्दा बढी सहभागी हुन्छन्। यस सहकार्यले नेपाली धावक, अफिसियल र भोलिन्टियरलाई अन्तर्राष्ट्रिय अनुभव र सिकाइको ठूलो अवसर उपलब्ध गराउनेछ। हाम्रो उद्देश्य नेपालमा खेलकुदका लागि दक्ष जनशक्ति उत्पादन र युवा पुस्तालाई विश्वस्तरमा एक्सपोजर दिलाउने हो।”
यस सम्झौताबाट नेपालका रनिङ इभेन्टहरूको अन्तर्राष्ट्रिय प्रचारप्रसार हुने र खेलकुद पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ। सम्झौता अनुसार, नेपालगन्ज म्याराथनको सिफारिसमा खेलाडी, अफिसियल र भोलिन्टियरलाई मलेसिया तथा सिङ्गापुरमा हुने स्कोर म्याराथनमा सहभागी हुन विशेष दर्ता तथा आतिथ्य सुविधा उपलब्ध गराइनेछ। सोही सुविधा नेपालगन्ज म्याराथन श्रृंखलामा पनि स्कोर म्याराथन टोलीलाई प्रदान गरिनेछ।
धारा नेपालगन्ज म्याराथनले हालसम्म एघार वर्षदेखि निरन्तर आयोजना गर्दै आएको छ। यसको भगिनी इभेन्टहरूमा नेपालगन्ज १० नाइट रन, गौघाट ग्रीन रन, राप्ती सोनारी नेचर रन, कर्णाली हाफ म्याराथन र काठमाडौं २५K हेरिटेज रेस रहेका छन्। यिनै म्याराथनहरूका साथ गत वर्षदेखि नेपाल इन्टरनेशनल रनिङ कन्फ्रेन्स पनि सुरु गरिएको छ।
कार्यक्रम संयोजक कपिल थापाका अनुसार, यस वर्ष स्थगित नेपालगन्ज १० नाइट रन मंसिर ६ गते हुने धारा नेपालगन्ज म्याराथनपछि पुनः मिति तय गरिनेछ। साथै, काठमाडौं २५K हेरिटेज रेस आगामी मे १ मा र नेपाल इन्टरनेशनल रनिङ कन्फ्रेन्स त्यसको अघिल्लो दिन आयोजना गरिने योजना छ।
स्कोर म्याराथनकी सिईओ प्याट्रेसिया टेनले भनिन्,
“मलेसिया–सिङ्गापुर र नेपालगन्ज–काठमाडौं म्याराथन श्रृंखलाबीचको सहकार्यले दुई देश, दुई शहर र दुई रनिङ आयोजकबीचको मित्रता अझ मजबुत हुनेछ। हामी नेपाली धावक र पाहुनालाई स्वागत गर्न उत्साहित छौं।”
यसअघि धारा नेपालगन्ज म्याराथनले थाइल्यान्डको बाङ्सेन४२ र बाङ्सेन१० (वल्र्ड क्लास इलाइट लेभल) तथा बाङ्सेन२१ (प्लेटिनम लेभल)सँग पनि यस्तै सहकार्य सम्झौता गरेको थियो।





