कलाकार सुनिल कटुवाल अन्तर्राष्ट्रिय कलाकार महासंघको चुनावी सभामा सहभागी हुन लण्डन प्रस्थान



काठमाडौँ । नेपाल चलचित्र कलाकार संघ (एफएएएन)का कोषाध्यक्ष तथा चर्चित कलाकार सुनिल कटुवाल अन्तर्राष्ट्रिय कलाकार महासंघ (एफआईए)को चुनावी सभामा सहभागी हुन आइतबार बिहान लण्डन प्रस्थान गरेका छन् ।

कटुवालले नेपाल चलचित्र कलाकार संघको तर्फबाट नेपालको एकल प्रतिनिधित्व गर्दै बेलायतको बर्मिङ्घम सहरमा यही नोभेम्बर ९ देखि १६ तारिखसम्म आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलन तथा चुनावी अधिवेशनमा भाग लिनेछन् । सो कार्यक्रममा करिब ४० देशका कलाकार संघका प्रतिनिधिहरू, जसमा युरोप, अमेरिका, भारतलगायतका देशका प्रतिनिधिहरू रहनेछन् । मुख्य कार्यक्रम बर्मिङ्घमको प्रतिष्ठित सिम्फोनी हलमा हुनेछ ।

एफआईएले सहभागी प्रतिनिधिहरूका लागि होटल बसोबास, खानपान र टिकटको व्यवस्था समेत गरेको छ । सम्मेलनको क्रममा विभिन्न अन्तरक्रिया, छलफल तथा सांस्कृतिक आदानप्रदान कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

कटुवालले यस अवसरलाई आफ्नो मात्र नभई नेपाल र नेपाली कलाक्षेत्रको गौरवको अवसरका रूपमा लिएका छन् । उनले कार्यक्रममा नेपालको कला, संस्कृति र फिल्म उद्योगको प्रतिनिधित्व गर्दै युरोप, अमेरिका, हलिउड र बलिउडका ख्यातिप्राप्त कलाकारहरूसँग प्रत्यक्ष भेटघाट गर्ने बताएका छन् ।

नेपालको प्रतिनिधित्व सुदृढ पार्ने उद्देश्यले उनले नेपाली हस्तकलाका विशेष उपहारहरू – ‘मायाको चिनो’ र खादा – लिएर गएका छन् । साथै, उनले राष्ट्रिय पोशाक दौरा–सुरुवाल र ढाका टोपीमा कार्यक्रममा सहभागी हुने बताएका छन् ।

कटुवालले सम्मेलनमा नेपालको कला, संस्कृति र पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनसम्बन्धी कार्यपत्र पनि प्रस्तुत गर्ने तयारी गरेका छन् । यस क्रममा उनी एफआईएका हालका र आगामी अमेरिकी अध्यक्ष तथा महासचिवसँग प्रत्यक्ष भेटघाट गरी दक्षिण एशियामा एफआईए क्षेत्रीय कार्यालय स्थापनाको पहल गर्ने योजना पनि राखेका छन् ।

अन्तर्राष्ट्रिय सम्मेलनपश्चात् उनले लण्डनमा नेपाल चलचित्र कलाकार संघ यूके शाखाका पदाधिकारीहरूसँग भेटघाट तथा छलफल गर्नेछन् । त्यसपछि उनी लण्डनमै आयोजना हुने नेपाली अवार्ड समारोहमा समेत सहभागी हुने कार्यक्रम छ ।

नेपाल चलचित्र कलाकार संघमा हाल उनी तेस्रो कार्यकालका कोषाध्यक्ष हुन् । उनले फिल्म, सिरियल र म्युजिक भिडियोहरूमा अभिनय गर्दै आएका छन् । कटुवालले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पाउनु गर्वको विषय भएको बताउँदै, कार्यक्रममा सहभागी अन्तर्राष्ट्रिय कलाकारहरूलाई नेपाल चलचित्र छायांकनका लागि उपयुक्त गन्तव्य भएको सन्देश दिने प्रतिबद्धता जनाएका छन् ।

यसअघि कलाकार संघले एक विशेष कार्यक्रम आयोजना गरी कटुवाललाई औपचारिक विदाई गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्