
काठमाडौं, कात्तिक २२ गते ।
नेपालका नम्बर वान खेलाडी प्रदीप खड्का र शिभाली गुरुङले होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको सिंगल्स उपाधि जितेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष फाइनलमा प्रदीपले प्रणव मानन्धरलाई ६–३, २–६, ६–२ ले पराजित गर्दै आफ्नो करियरको १७औं सिंगल्स उपाधि जिते । महिला सिंगल्समा शिभालीले स्वस्तिका विष्टलाई ६–० र ६–२ को सोझो सेटमा पराजित गर्दै यु–१६ सिंगल्समा व्यहोरेको हारको बदला लिन सफल भइन् ।

प्रतियोगितामा पुरुष र महिला विजेताले ४० हजार, उपविजेताले २० हजार र तेस्रो स्थान हासिल गर्नेले ५÷५ हजार रुपैयाँ प्राप्त गरे ।
यु–१२ ब्वाइज सिंगल्समा विश्वविशेष डल्लाकोटी, गल्र्समा सारा पन्त विजयी बने । साराले यु–१४ सिंगल्समा पनि एरा खत्रीलाई हराउँदै दोहोरो स्वर्ण जितिन् ।
यु–१४ ब्वाइजमा साङ्गे रोकायाले, यु–८ ब्वाइजमा सर्वज्ञजंग खत्रीले, गल्र्समा स्वर्णिमा श्रेष्ठले, यु–९ र यु–१० ब्वाइजमा कायान चालिसे र गल्र्समा निम्ति कुँवरले तथा यु–१६ ब्वाइजमा दर्शिल श्रेष्ठले उपाधि हात पारे ।
नेपाल टेनिस संघको सहयोगमा होटल मिस्टिक माउन्टेनले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ १३६ र महिलातर्फ ८३ खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख ४२ हजार रुपैयाँ रहेको थियो ।





