हिमालय क्षेत्रका सञ्चार विज्ञहरुको दुई दिने अन्तर्राष्ट्रिय सङ्गोष्ठी सम्पन्न, साझेदारीमार्फत समस्या समाधानमा जोड



काठमाडौँ । हिमालय क्षेत्रका साझा चुनौती र अवसरबारे गहिरो छलफल गर्दै तेस्रो परा–हिमालय सञ्चार तथा सामाजिक सङ्गोष्ठी काठमाडौँमा सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालयको पत्रकारिता विभाग र चीनको सिचुवानस्थित युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (युइएसटीसी) अन्तर्गतको स्कुल अफ पब्लिक एडमिनिस्ट्रेशनको संयुक्त आयोजनामा भएको उक्त दुई दिने कार्यक्रम “पेरिफेरियल डिजिटल कम्युनिकेसन एण्ड रिजनल पब्लिक गभर्नेन्स” भन्ने नारामा सम्पन्न भएको हो।

सङ्गोष्ठीमा हिमालय आसपासका नौ देशका १५० भन्दा बढी सञ्चार विज्ञ, शिक्षाविद्, अनुसन्धानकर्ता र मिडिया संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए। पाँच समानान्तर सत्रमार्फत ६० भन्दा बढी कार्यपत्रहरू प्रस्तुत गरिएका थिए।

वक्ताहरूले हिमालय क्षेत्रका देशहरूबीच विभाजन होइन, साझेदारी र साझा दृष्टिकोणमार्फत विकास र समृद्धि सम्भव हुनेमा जोड दिए।

युनिभर्सिटी अफ टेक्ससका प्राध्यापक अरविन्द सिङ्गलले हिमालय क्षेत्र साझा संस्कृति र समान चुनौतीले जोडिएको बताउँदै, “हाम्रो सञ्चार माध्यमले साझा कथा बोल्नुपर्छ, जसले समस्या समाधानतर्फको आवाज बलियो बनाओस्,” भन्ने अभिव्यक्ति दिए।

कुमाउँ विश्वविद्यालयकी प्राध्यापक दीपिका पन्तले हिमालय क्षेत्रका पहाडी महिलाहरूको संघर्ष र जीवनशैली नै प्रभावकारी सञ्चारको उदाहरण भएको बताइन्। उनले आधुनिकताको लहरसँगै भाषा र संस्कृति लोप हुने जोखिम औंल्याउँदै सांस्कृतिक संरक्षणका लागि सचेत प्रयास आवश्यक रहेको उल्लेख गरिन्।

भूटानको सूचना तथा मिडिया विभागका संस्थापक दाबा पेन्जोरले आधुनिक प्रविधि अंगीकार गर्दै आफ्नै मौलिक संस्कृतिको संरक्षण गर्नुपर्ने बताए।

त्यस्तै, युनिभर्सिटी अफ पञ्जाबकी प्राध्यापक अविधा अस्रफले जलवायु परिवर्तन हिमालय क्षेत्रको साझा चुनौती भएको बताउँदै, सीमा रेखाले प्राकृतिक प्रकोप वा सञ्चारको प्रवाह रोकिन नहुनेमा जोड दिइन्। उनले समस्या समाधानका लागि साझा प्रयास र क्षेत्रीय सञ्चार सहकार्य अपरिहार्य रहेको बताइन्।

पान हिमालय कम्युनिकेसन रिसर्च सेन्टरका निर्देशक हान होङले सञ्चार साझेदारीले क्षेत्रीय शान्ति, स्थायित्व र विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

सङ्गोष्ठीकै अवसरमा त्रिभुवन विश्वविद्यालय र युइएसटीसीका जनप्रशासन विभागले संयुक्त रूपमा रिसर्च सेन्टर फर डिजिटल एण्ड इन्टेलिजेन्ट पब्लिक गभर्नेन्स इन पान हिमालय रिजन स्थापना गर्ने घोषणा समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्