
काठमाडौँ, कात्तिक २२ गते ।
केभिआर समीट च्यालेन्जको तेस्रो संस्करणअन्तर्गत दोस्रो चरणमा पुरुषतर्फ नेपालका विशाल राई र महिलातर्फ नेदरल्यान्ड्सकी मारिजे गुवर्टसनले उपाधि हात पारेका छन् ।
शनिबार ट्रेलमान्डु नेपालको आयोजनामा सम्पन्न २१ किलोमिटरको दौडमा पुरुषतर्फ विजेता बनेका विशालले दुई घन्टा ३१ मिनेटमा दूरी पूरा गरे । नेपालकै वीरेन्द्र पाण्डे दुई घन्टा ४२ मिनेटमा दोस्रो र युगल राई तीन घन्टा ३७ मिनेटमा तेस्रो भए ।

महिला वर्गमा नेदरल्यान्ड्सकी मारिजेले तीन घन्टा ३७ मिनेटमा सबैभन्दा छिटो दूरी पूरा गर्दै पहिलो स्थान हात पारिन् । स्कटल्यान्डकी जर्जिया टिन्डले (४ घन्टा ७ मिनेट ५० सेकेन्ड) दोस्रो र फिनल्यान्डकी सोन्या मुइतारी (४ घन्टा ९ मिनेट ५१ सेकेन्ड) तेस्रो स्थानमा रहे ।

२१ किलोमिटरको दौड स्युचाटारबाट सुरु भई गुरजे भञ्ज्याङ, शिवरी पिक, डाँडागाउँ हुँदै पुनः सुर्यचौरमा सम्पन्न भएको थियो ।
ट्रेल रनिङमा नयाँ धावक र रमाइला दृश्यावलोकन गर्न चाहनेका लागि ७ किलोमिटरको फन रन/हाइक पनि आयोजना गरिएको थियो । सो दौड सुर्यचौरबाट सुरु भई गुरुङगाउँ, गुरजे भञ्ज्याङ हुँदै पुनः सुर्यचौरमै सम्पन्न भयो ।
७ किलोमिटर फन रनतर्फ पुरुषतर्फ ह्याभियर गोन्जालेज मोटाले १ घन्टा १० मिनेटमा पहिलो स्थान प्राप्त गरे । लबिन गुरुङ १ घन्टा ११ मिनेटमा दोस्रो र समिर कार्की १ घन्टा १२ मिनेटमा तेस्रो भए ।
महिला वर्गमा अनिमा शेर्पा (१ घन्टा २८ मिनेट) विजेता भइन् भने फिलयोर माउन्टजोय (१ घन्टा ३० मिनेट) दोस्रो र आमानडाइन फेमी (१ घन्टा ३४ मिनेट) तेस्रो स्थानमा रहिन् ।
दोस्रो चरणमा स्वदेशी सहित १० देशका धावक–धाविकाहरूको सहभागिता रहेको थियो । २१ किलोमिटरतर्फ ११२ र ७ किलोमिटरतर्फ ३० जना धावकले प्रतिस्पर्धा गरेका थिए ।
केभिआर समीट च्यालेन्ज पाँच चरणमा सम्पन्न हुने कार्यक्रम हो । आगामी चरणहरू क्रमशः डिसेम्बर ८, सन् २०२६ जनवरी १० र फेब्रुअरी १ मा हुनेछन् ।
“स्वस्थ रहौं, रमाइलो गरौं, र ट्रेलमै नेपाललाई चिनाऔं” भन्ने नारासहित ट्रेलमान्डु नेपालले यो प्रतियोगिता आयोजना गर्दै आएको हो ।
विजेताहरूलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल स्पोर्ट्स साइन्स एकेडेमीका उपनिर्देशक राजेन्द्र तुलाधर र नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि निरज श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए ।





