
नेपालगन्ज ।
दोस्रो संस्करणको राप्ती सोनारी नेचर रनको उपाधि करण नेपाली र आयुसा सिंह ठकुरीले जितेका छन् ।
एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (AIMS) को वार्षिक कार्यक्रम धारा नेपालगन्ज म्याराथन अन्तर्गतको भगिनी इभेन्टको रूपमा सुरु गरिएको यो दौड स्थानीय विद्यार्थीहरूलाई प्रकृतिप्रति आकर्षित गर्ने उद्देश्यले गत वर्षदेखि आयोजना हुँदै आएको हो ।
शनिबार राप्ती सोनारी गाउँपालिकाको मदुवामा सम्पन्न प्रतियोगितामा छात्रतर्फ नविनप्रसाद जोशी दोस्रो र प्रिन्स थारु तेस्रो बने । सो वर्गमा रामबहादुर बिक, सुशान्त पुनमगर, दिपेन्द्र बस्खोर, रोहित दहित, समिर थारु, बिशाल सुनार र आशीक थारु शीर्ष दश भित्र परे ।

त्यस्तै छात्रातर्फ अनिसा थारुले दोस्रो र अन्चल कुमारी थारुले तेस्रो स्थान हासिल गरिन् । यस समूहमा मिना बिष्ट, अन्जु सुनार, अनुजा थारु, सन्जु थारु, रन्जिता चौधरी, निस्मा थारु र रामकुमारी थारु शीर्ष दसमा परे ।

विजेताहरूलाई क्रमशः रु. ५ हजार, ३ हजार र १ हजार नगदसहित पदक प्रदान गरिएको थियो । पुरस्कार वितरण राप्ती सोनारी गाउँपालिका कार्यवाहक अध्यक्ष मिनराज खड्का, वडा नं. ५ का अध्यक्ष झगरु थारु, वडा नं. २ का कार्यवाहक अध्यक्ष दीपबहादुर बुढाथोकी, खेलकुद विकास समितिका संयोजक तेजबहादुर सुवेदी, मधु सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर केसी, राष्ट्रिय खेलाडी बालकृष्ण चौधरी र तीर्थ ओलीलगायतले गरे ।
कार्यवाहक अध्यक्ष खड्काले आगामी वर्षदेखि राप्ती सोनारी नेचर रनलाई गाउँपालिकाको वार्षिक कार्ययोजनामा समावेश गर्ने प्रतिबद्धता जनाउँदै सबै नौ वटै वडाबाट सहयोग जुटाउने आश्वासन दिएका थिए ।
रेस निर्देशक चन्द्रबहादुर गुरुङका अनुसार करिब १३० जनाले सहभागिता जनाएको यो दौडमा शीर्ष १० स्थान हासिल गर्ने खेलाडीहरूलाई आगामी मंसिर ६ गते हुने ११औं धारा नेपालगन्ज म्याराथनमा स्वतः भाग लिने अवसर प्रदान गरिएको छ ।
धारा नेपालगन्ज म्याराथनका भगिनी इभेन्टहरू अन्तर्गत यसअघि गौघाट ग्रीन रन, काठमाडौं २५K हेरिटेज रेस, नेपालगन्ज १० नाइट रन, र कर्णाली हाफ म्याराथन पनि सम्पन्न भइसकेका छन् ।





