दर्शिल श्रेष्ठको ग्रान्ड उपाधि जित



काठमाडौं ।
दर्शिल श्रेष्ठले होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्स उपाधि शुक्रबार आफ्नो नाममा लेखेका छन्।

नेपाल टेनिस संघको सहयोगमा होटल मिस्टिक माउन्टेनद्वारा आयोजित फाइनलमा दर्शिलले असभसम्राट हाडालाई ३–६, ६–० र ६–३ को सेटमा पराजित गरेका हुन्।

सातदोबाटोस्थित कोर्टमा भएको यु–९ ब्वाइज सिंगल्समा कायान चालिसेले सर्वज्ञजंग खत्रीलाई ४–१ र ४–२ ले पराजित गर्दै स्वर्ण जिते भने गल्र्समा निम्ति कुँवरले अमिरा गुप्तामाथि ४–१ र ५–४ को जित निकालिन्।

दोहोरो स्वर्ण जित्ने क्रममा कायानले यु–१० ब्वाइज सिंगल्समा पनि विजय हात पारे। उनले फाइनलमा सोनाम घलेलाई ६–२ र ६–४ ले हराए। यु–१२ गल्र्स सिंगल्समा सरा पन्तले नाइरा घलेलाई ६–१ र ६–२ ले पराजित गर्दै शीर्ष स्थान हात पारिन्।

यु–१६ गल्र्स सिंगल्समा स्वस्तिका विष्टले शिभाली गुरुङलाई ६–४ र ७–६ ले हराउँदै उपाधि जितिन्।

पुरुष सिंगल्सतर्फ प्रदीप खड्का र प्रणव मानन्धरले उपाधि भिडन्त सुनिश्चित गरेका छन्। प्रदीपले राजवीर प्रधानलाई ६–३, ६–३ ले र प्रणवले निसान श्रेष्ठलाई ७–५, ६–२ ले हराए।

यु–१२ ब्वाइज सिंगल्सको फाइनलमा वेदान्त चालिसे र विश्वविशेष डल्लाकोटी भिड्ने भएका छन्। वेदान्तले आरित मल्ललाई ७–६, ६–३ र विश्वविशेषले सभ्यजंग कार्कीलाई ६–१, ४–६, ६–३ ले हराएका हुन्।

त्यस्तै, यु–१४ ब्वाइज सिंगल्समा साङगे रोकायाले आरित मल्ललाई ६–२, ६–३ र वेदान्त चालिसेले युभेनमान श्रेष्ठलाई ६–०, ६–४ ले पाखा लगाउँदै फाइनलमा पुगे। सोही समूहको गल्र्सतर्फ इरा खत्रीले स्वराह थापालाई ५–७, ६–४, ६–४ र सरा पन्तले आयुषा जिसीलाई ७–६, ६–३ ले हराउँदै फाइनल भेट पक्का गरे।

प्रतिक्रिया दिनुहोस्