भ्याली पब्लिकको उत्कृष्ट सुरुवात



काठमाडौं, कात्तिक २१ गते ।
१७औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा भ्याली पब्लिक स्कूलले शुक्रबार शानदार सुरुआत गरेको छ। विद्यालयको गल्र्स टिमले लगातार तीन खेल जित्दै बलियो प्रदर्शन गरेको हो।

गल्र्सतर्फ भ्याली पब्लिकले काठमाडौं युरोलाई २६–१४, चेल्सीलाई ३६–२३ र एसएमडीलाई ३१–२० ले पराजित गर्‍यो। विजयी टोलीका लागि सेलिनाले ६, लोरिशा गौचनले १५ र एनिला गौचनले १३ अंक योगदान दिए।
तर, ब्वाइजतर्फ भने मंगलदीपले भ्याली पब्लिकलाई ३८–३५ ले पराजित गर्‍यो। विजेता टोलीका अजेश नेपालीले सर्वाधिक १३ अंक जोडे।

ठूङ्गरम इन्टरनेशनल एकेडेमी (टीआईए) द्वारा आयोजित प्रतियोगिताको गल्र्स समूहमा निम्सले टीआईए ‘ए’ लाई २८–१३ ले र काष्ठमण्डपले ज्ञानोदयलाई १३–११ ले हरायो। निम्सकी निलम कोइरालाले १९ र काष्ठमण्डपकी रिहान्सी केसीले ४ अंक प्राप्त गरिन्।

‘शिक्षा र खेलकुदसंगै’ भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगिताको उद्घाटन बूढानीलकण्ठ वडा नं. ७ का अध्यक्ष बसनारायण महर्जनले गरेका थिए। प्रतियोगितामा ब्वाइजतर्फ २४ र गल्र्सतर्फ १६ गरी कुल ४० टिम सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्