
काठमाडौं, कात्तिक २१ गते ।
नेपालका सानो भाइ पौडेल विश्व ट्रायथलन प्रशिक्षकको लेभल–२ कोर्समा उत्तीर्ण भएका छन् ।
दक्षिण कोरियाको सोलमा सेप्टेम्बर १२ देखि १६ तारिखसम्म विश्व ट्रायथलनले आयोजना गरेको उक्त कोर्स सफलतापूर्वक पूरा गर्दै पौडेल अब अन्तर्राष्ट्रिय ट्रायथलन खेलाडीहरूलाई समेत प्रशिक्षण दिन योग्य बनेका छन् ।

प्रशिक्षक पौडेलका अनुसार, “लेभल–२ कोर्स निकै चुनौतीपूर्ण थियो । यो स्तरको प्रशिक्षक बन्नका लागि धेरै मापदण्ड पूरा गर्नुपर्थ्यो । कोरियामा प्रशिक्षण पूरा गरेपछि नेपाल फर्केर करिब छ हप्तासम्म त्यससँग सम्बन्धित व्यवहारिक कार्यहरू सम्पन्न गरी भिडियो पठाएको थिएँ, त्यसको मूल्यांकनपछि मात्रै प्रमाणपत्र प्राप्त भयो,” उनले बताए ।
सन् २०१९ मा नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले ट्रायथलनमा दुई स्वर्णसहित छ पदक जित्दा पौडेल प्रशिक्षकको भूमिकामा थिए । लेभल–२ कोर्सपछि उनले नेपाली ट्रायथलन खेलाडीहरूलाई अझ गुणस्तरीय र वैज्ञानिक प्रशिक्षण प्रदान गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन योगदान दिने लक्ष्य लिएका छन् ।





