
पोखरा ।
नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको आयोजनामा लोकप्रिय सांगीतिक ब्यान्ड नेपथ्यले पोखरामा विशेष कन्सर्ट गर्न लागेको छ । ‘क्रिकेटका लागि नेपथ्य’ भन्ने नारासहित आगामी नोभेम्बर ७ (शुक्रबार) का दिन पोखरा रंगशालाको फुटबल स्टेडियममा उक्त कन्सर्ट हुने भएको हो ।
पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीका अनुसार क्रिकेट र संगीतलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित यो कार्यक्रम आयोजना गरिएको हो । उनका अनुसार, कन्सर्टका लागि छुट्टै टिकट राखिएको छैन — पोखरा एभेन्जर्सको जर्सी खरिद गर्ने समर्थकहरूले नै प्रवेश पाउने छन् ।
“क्रिकेटको विकासमा लिजेन्ड्री ब्यान्ड नेपथ्यसँग सहकार्य गर्न पाउँदा हामी निकै उत्साहित छौं,” त्रिपाठीले भने ।
समर्थकहरूले नेपथ्यको आधिकारिक वेबसाइटमार्फत पोखरा एभेन्जर्सको जर्सी खरिद गर्न सक्नेछन् । जर्सीको नियमित मूल्य रु. १,४९९ भए पनि, कन्सर्टका लागि आउने पहिला १,००० जना समर्थकले मात्र रु. ९९९ मा खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।
कन्सर्टबाट उठेको रकम गण्डकी प्रदेशका सामुदायिक विद्यालयहरूमा क्रिकेट किट वितरणमा प्रयोग गरिने अध्यक्ष त्रिपाठीले जानकारी दिए ।
यसैबीच, मंसिर १ गतेबाट सुरु हुने एनपिएलको दोस्रो संस्करणअन्तर्गत ट्रफी टुर अहिले देशभर भइरहेको छ । मंगलबार पोखरामा ट्रफी प्रदर्शन कार्यक्रममा नेपथ्यका प्रमुख गायक अमृत गुरुङले पोखराको खेलकुद इतिहास स्मरण गर्दै भने,
“५० वर्षअघि पोखरामा खेलकुदका पूर्वाधार थिएनन्, आज रंगशालाले खेलाडी र खेलप्रेमी दुवैमा उर्जा भर्यो । नेपाल क्रिकेट अहिले गर्व गर्न लायक स्तरमा पुगेको छ । अबका तयारीहरू विश्वकप जित्ने लक्ष्यसहित हुनुपर्छ,” उनले शुभकामना व्यक्त गरे ।





