
काठमाडौं, १३ कात्तिक ।
जेनजी आन्दोलनको उपलब्धि सुरक्षित गर्दै दलित समुदायको हकअधिकार र सहभागिता सुनिश्चित गर्न “दलित जेनजी एलायन्स” गठन गरिएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त एलायन्सको घोषणा गरिएको हो । एलायन्सको संयोजकमा जीवन तिरूवा नेपाली चयन भएका छन् ।
संयोजक नेपालीले एलायन्स गठनको उद्देश्य जेनजी आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्दै दलित समुदायको सशक्तिकरणका लागि सामूहिक प्रयास गर्ने रहेको बताए । उनले भने, “हामीले यो दलित जेनजी एलायन्स गठन गर्नुको मुख्य उद्देश्य जेनजीहरूलाई सशक्त बनाउने हो । हरेक वार्ता, सम्वाद र नीतिनिर्माण तहमा दलित जेनजीहरूको प्रतिनिधित्व हुनुपर्छ । हालको मन्त्रिपरिषद्मा पनि दलित समुदायबाट थप दुई जना सदस्य समावेश गर्नुपर्छ भन्ने माग प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राखिएको छ, र उहाँ यसमा सकारात्मक हुनुहुन्छ।”
नेपालीले राजनीतिक दलहरूलाई जेनजी समुदायको भावना र मागप्रति संवेदनशील रहन आग्रह गर्दै चेतावनी दिए, “दलहरूले जेनजीको भावनामाथि खेलवाड नगर्नुहोस्, नत्र जेनजीहरूले निर्णायक आन्दोलन गर्न सक्छन् ।” उनका अनुसार अहिलेको जेनजी पुस्ताको मुख्य माग सुशासन कायम गर्नु र भ्रष्टाचार अन्त्य गर्नु हो ।
कार्यक्रममा भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएका कालिकोटका शैलेन्द्र लोहार र पर्वतका आयुष विश्वकर्माले पनि आफ्नो अनुभव सुनाएका थिए । उनीहरूले देशमा सकारात्मक परिवर्तन र न्यायपूर्ण शासन प्रणालीका लागि आफूहरू आन्दोलनमा सहभागी भएको बताए ।
त्यसैगरी, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष अधिवक्ता त्रिलोक चन्द विश्वास (बिक) ले एलायन्स गठनका कारण र उद्देश्यबारे स्पष्ट पार्दै भने, “जेनजी आन्दोलनले सुशासन, भ्रष्टाचार नियन्त्रण र समानुपातिक प्रतिनिधित्वको माग उठाएको हो । अब देशमा दलित र सिमान्तकृत समुदायको उचित प्रतिनिधित्व सुनिश्चित गर्नैपर्छ।”
उनले जेनजी आन्दोलनप्रति कुनै प्रकारको षड्यन्त्र नगर्न चेतावनी दिँदै, आन्दोलनमा सहभागी युवाहरूलाई फसाउन खोज्नु गलत हुने बताए । “जेनजी पुस्ताले देश परिवर्तनको लागि ठूलो योगदान दिएको छ,” उनले भने, “यो जनआन्दोलन २०८२ का रूपमा लिनुपर्छ । शहीद र घाइतेहरूको राज्यले कदर र संरक्षण गर्नुपर्छ।”
विश्वासले नयाँ राजनीतिक संरचनामा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था र संविधान संशोधनमार्फत समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गरे । उनका अनुसार, “यो सरकार जेनजी आन्दोलनपछि बनेको हो, त्यसैले संविधान र आन्दोलनका मागहरूको रक्षा हुनु अपरिहार्य छ।”
कार्यक्रमको सञ्चालन रुपकलाल कुलालले गरेका थिए ।





